केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सेवाप्रदायक टेलिकम कम्पनीहरूको आनाकानीले टेरामोक्स कार्यान्वयनमा आएन

सहयात्रा टिभी

काठमाडौँ । भदौ ५ दूरसञ्चार सेवालाई विश्वासिलो, गुणस्तरीय र भरपर्दो बनाउने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरणले ल्याएको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रण्ड कन्ट्रोल सिस्टम (टेरामोक्स) कार्यान्वयनमा सेवाप्रदायक टेलिकम कम्पनीहरूले आनाकानी गरेका छन् ।

कम्पनीहरूको कार्यान्वयनमा रुचि नदेखाएपछि , तीन अर्बभन्दा बढी खर्चेर ल्याइएको उक्त प्रविधि हाल कार्यान्वयनमा आउन सकेको छैन । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार एनसेलका तीनवटा डाटा सेन्टरमा उक्त प्रविधि जडान भए पनि कार्यान्वयनमा आएको छैन भने नेपाल टेलिकमले उक्त प्रविधि जडानमा रुचि देखाएको छैन ।

नेपालका टेलिकम सेवाप्रदायक कम्पनीले उपभोक्तालाई दिने सेवाको गुणस्तर सुधार तथा उपभोक्ताको हितका लागि कार्यान्वयनमा ल्याउन लागिएको उक्त प्रविधिबारे गलत ढङ्गले प्रचार–प्रसार गरिएको उनको भनाइ छ ।

टेरामोक्स प्रविधि उपभोक्ताको एसएमएस र कल डिटेललगायतका अति गोप्य सूचना सङ्कलन गर्ने उद्देश्यले ल्याउन लागिएको भन्दै प्रचार-प्रसार गरिएकामा दूरसञ्चार प्राधिकरणको गुनासो छ । अध्यक्ष खनालले व्यक्तिगत एसएमएस तथा सूचना सङ्कलनको उद्देश्य नभई गुणस्तर सुधारका लागि उक्त प्रविधि ल्याइएको दाबी गर्छन् ।

उनले हाल आवश्यक एसएमएस र कल डिटेल जिल्ला अदालतको आदेशमा सम्बन्धित निकायले सेवाप्रदायकसँगको सहकार्यमा हेर्न मिल्ने भन्दै उक्त विषय प्राधिकरणको क्षेत्राधिकारभित्र नपर्ने स्पष्ट पारे । उनका अनुसार यदि कल डिटेललगायतका सबै विशेषतासहितको प्रविधि ल्याएको भए खर्च दोब्बर हुने थियो । यस विषयमा टेरामोक्स प्रविधिको विशेषता तथा कामबारे प्राधिकरणले श्वेतपत्र पनि जारी गरिसकेको छ ।

प्राधिकरणका अनुसार टेरामोक्स प्रविधिले गुणस्तर जाँच गर्नुका साथै ग्राहकलाई क्षतिपूर्ति दिलाउनका लागि सिफारिससमेत गर्ने प्राधिकरणको भनाइ छ । यदि कुनै सेवाप्रदायकले ग्राहकसँग अतिरिक्त शुल्क लिइरहेको छ भने त्यस्ता सेवाप्रदायकलाई थप जिम्मेवार बनाउँदै ग्राहकलाई क्षतिपूर्तिको समेत व्यवस्थाका लागि यो प्रविधि सहयोगी बन्ने प्राधिकरणको भनाइ छ ।

साथै यो प्रविधिले घट्दो टेलिकम कारोबार तथा कल वाइपासबारे पनि अनुगमन गर्नेछ । प्राधिकरणका अनुसार पछिल्लो समय टेलिकम कम्पनीमा ग्राहकको सङ्ख्या बढ्दो भए पनि आम्दानी भने घट्दो अवस्थामा रहेको बताएको छ ।

 

प्रकाशित : 22 August, 2023

प्रतिक्रिया दिनुहोस्