बबरमहल दरबारमा सडक विभाग र महालेखाबीच मतभेद

काठमाडौँ । भदौ ६, प्रबलीकरण सकिन लागेको बबरमहल (दरबार भवन)मा गत शुक्रबार महालेखा परीक्षकको कार्यालयले पूर्वाधार विकास लेखा परीक्षण विभागको ‘प्रिन्ट बोर्ड’ टाँस्यो । आइतबार सडक विभागका कर्मचारीले महालेखाको बोर्ड निकालिदिए र महालेखालाई रोक्ने गरी गेटमा धर्ना दिन थाले । यसैकारण दुई निकायबीच मतभेद उत्पन्न भएको छ ।
सोमबार महालेखाका कर्मचारीहरु ‘निर्देशक’हरुको नेमप्लेट लिएर टाँस्न आए । सडक विभागका कर्मचारीहरुले प्रवेश नै नदिएर फर्काए । अझ त्यसमाथि सोमबार जिल्ला निर्वाचन कार्यालयका कर्मचारी समेत बबरमहलमा आफूहरुले पनि ठाउँ पाउनुपर्ने दाबी गर्दै आइपुगे ।
बबरमहलमा महालेखा फेरि फर्किन लागेको र निर्वाचन कार्यालय समेत बस्न खोजेको थाहा पाएपछि रोक्नका लागि भन्दै सडक विभागका कर्मचारीहरुले आइतबारदेखि लगातार ‘गस्ती’ नै गरिरहेका छन् । महालेखाले राखेका बोर्ड सोमबार हटाएर सडक विभागका कर्मचारीहरुले आफ्नै महाशाखाका नामहरु टाँसेका छन् ।
यसैकारण सडक विभागको केन्द्रीय कार्यालयदेखि हाल विभिन्न ठाउँमा छरिएर रहेका विभिन्न आयोजना बबरमहलमा सर्न पनि सुरु गरेका छन् । महालेखा आउन लागेपछि बुधबारदेखि नै सडक विभागले सबै सेवा बबरमहलबाटै दिन थालेको छ । कर्मचारीहरु पूजाआजा गरी कार्यालय भवनभित्र प्रवेश गरेका छन् ।
नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य उपेन्द्र महरा सडक विभागले रेट्रोफिट गरेर उपयोग गर्न लागेको भवनमा अन्य निकायले आँखा लगाएपछि रोक्नुपर्ने अवस्था आएको बताउँछन् । ‘लिखित रुपमा नै यो जग्गा र भवन सडक विभागको हो,’ उनी भन्छन्, ‘अरु निकायले जबरजस्ती गरेर हडप्न पाउँदैनन् ।’
सडक विभागले प्रबलीकरण ९रेट्रो फिट० गराएको बबरमहल भवनको सबै काम सकिन बाँकी नै छ । तर अहिलेदेखि नै कुन–कुन निकाय त्यहाँ बस्ने भन्ने विवाद चर्किएको छ । महालेखा परीक्षकको कार्यालय विवाद साम्य पारेर बबरमहलको एउटा भागमा आफ्नो कार्यालय राख्ने प्रयासमै छ भने सडक विभाग जसरी पनि महालेखा र निर्वाचन कार्यालयलाई रोक्ने रणनीतिमा छ ।
राणाकालमा बबरशम्शेरले निर्माण गरेको यो भवनको आधा–आधा भाग २०७२ सालसम्म सडक विभाग र महालेखा परीक्षकको कार्यालयले उपयोग गरेका थिए । १२ वैशाख २०७२ को भूकम्पले भवनमा क्षति पु¥याएपछि महालेखा परीक्षकको कार्यालय अनामनगरमा नयाँ भवन बनाएर सरेको थियो ।
बबरमहल दरबारका कोठामा महालेखा परीक्षकको कार्यालयका कर्मचारीहरुले राखेका प्रिन्ट बोर्ड हटाएर सडक विभागका कर्मचारीहरुले आफ्नै शाखाका नाम राखेका छन् ।
महालेखाले बबरमहलको कार्यालय छाडेबापत सानोगौचरणमा रहेको सडक विभागको जमिन पाएको थियो । उसले सानोगौचरणको जमिनको सट्टा अनामनगरमा रहेको शहरी विकास तथा भवन निर्माण विभागको जमिन पाएर त्यहीँ भवन बनाएको हो ।
त्यतिबेला बबरमहललाई रेट्रोफिट गरेर सडक विभागले नै पूर्णप्रयोग गर्न सक्ने गरी मन्त्रिपरिषदले अनुमति दिएको थियो । नयाँ भवन पाएकाले महालेखा परीक्षकको कार्यालय बबरमहल नफर्किनेमा सडक विभाग विश्वस्त थियो ।
तर, अहिले आफ्ना कर्मचारीहरु राख्न नयाँ भवनका कोठाहरु अपुग भएको भन्दै महालेखाले सडक विभागको स्वामित्वको भवनमा भौतिक पूर्वाधारसम्बद्ध विभागहरु राख्न खोजेको छ । यसैकारण दुई निकायबीच मतभेद उत्पन्न भएको छ ।
यस्तो अवस्थामा जिल्ला निर्वाचन कार्यालय, काठमाडौं समेत बबरमहलमा आउन चाहेको बुझेपछि सडक विभागका कर्मचारीहरु विरोधमै उत्रिएका छन् । उनीहरुले विभिन्न पक्षसँग सडक विभागले मात्रै बबरमहल उपयोग गर्न पाउने गरी ऐक्यबद्धता माग्दै विभाग परिसरमा दैनिक छलफल चलाइरहेका छन् ।