सरकारले भ्रष्टाचारीको संरक्षण गरेको शङ्कर पोखरेलको आरोप

काठमाडौँ । भदौ ६, नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गठबन्धनको सरकारले ‘सुशासन अभियान’को नाममा भ्रमको खेती गरेको आरोप लगाएका छन् ।
बुधबार बिहान वीरेन्द्रनगरमा पत्रकारसँग ‘कफी र कुरा’ नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले सरकारले सुशासनकै नाममा भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाए ।
‘अहिलेको सरकारले जे गरिरहेको छ यसरी देश चल्छ ? नक्कली भुटानी शरणार्थी प्रकरण, ललितानिवासको अनुसन्धान र सुनकाण्डलाई हेर्दा यसलाई कसरी सुशासनका लागेको सरकार भन्ने ? यी सबै काम सरकारकै डिजाइनमा भएको प्रष्ट देखिन्छ’ महासचिव पोखरेलले भने, ‘दण्डित हुनुपर्ने सरकार सुशासनको नाम दिएर भ्रमको खेती गरिरहेको छ ।’
पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरण पनि सरकारको चाहनाले भन्दा पनि अमेरिकन दबाबले अघि बढेको बताए । यस प्रकरणमा पनि निष्पक्ष छानबिन हुन नसकेको उनको आरोप छ । ललितानिवास प्रकरणको घरमा मुछिएकाहरूलाई घरघरमा गएर अनुसन्धान तथा बयान लिएकोमा पनि उनले सीआईबीको आलोचना गरे ।
फरक प्रसंगमा महासचिव पोखरेलले एमाले कर्णालीको नेतृत्वको विकास हुन अपरिहार्य रहेको बताए ।