बिजुलीबजारमा फुल र बत्तिले झलमल्ल आर्कब्रिज

काठमाडौं । भदौ ७, अब नाम जस्तै बिजुलीबजार विजुली झिलीमिली भएको छ । जब आर्कब्रिज बन्यो, तब बिजुलीबजारमा साँझपख भीडभाड हुन थालिसकेको थियो । अब त पुलमा बत्ती नै राखिदिएपछि युवायुवतीहरुको टहलिने स्थान भएको छ ।
काठमाडौं महानगरले पुलमा रहेका फलामे डण्डीहरुमा बत्तीहरु जडान गरेपछि अहिले सेल्फी खिच्ने, टिकटक बनाउनेहरुको उल्लास नै अर्को छ । बिजुलीबजारमा अत्याधुनिक डिजाइनको पुललाई फूल र बत्तीले सिँगार्दा विकासले दिएको खुसियालीमात्रै होइन, यादगार पलहरु साट्ने स्पट बन्न पुगेको छ ।
काठमाडौं महानगरपालिकाले ‘सुन्दर महानगर कार्यक्रम’ अन्तर्गतको पहिलो काम पुलहरुमा बत्ती जडान गरेको थियो । विजलुी बजारको दुईवटा सिग्नेचर आर्क ब्रिज र विष्णुमती नदी माथि रहेको परोपकार अगाडिको आर्क ब्रिजलाई महानगरले विद्युतीय सौन्दर्यकरण गरेको हो । त्यस्तै डल्लुको आर्क ब्रिजमा पनि बिजुलीको उज्यालो छर्दै हेर्नलायक बनाइएको महानगर बताउँछ ।