सरकारले चालु खर्च घटाउने गरी मितव्ययी व्यवहार देखाउदै

काठमाडौं । भदौ ८ अनावश्यक र जथाभावी तवरले भइरहेको ठूलो खर्च नियन्त्रण गर्न सकिने निष्कर्ष निकालेर प्रधानमन्त्री कार्यालय प्रशासनले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ ।
मितव्ययिताको नारा लगाउने सरकारले चालु खर्च घटाउने गरी मितव्ययी व्यवहार देखाएको उदाहरण खासै भेटिंदैन ।
यसपटक भने अचम्मै भएको छ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नै खर्च कटौती र मितव्ययिताका लागि विभिन्न प्रयास थालेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले खाजा तथा बोतलको पानीबाटै मितव्ययिताको लागि प्रयत्न थालेको हो । यसैगरी ल्यान्डलाइन टेलिफोनको व्यवस्थापनको योजना समेत बनाइएको छ । इन्टरनेट समेत सेयिरिङ सिस्टमबाट व्यवस्थापन गरेर खर्च घटाउन खोजिएको छ ।
स्रोतका अनुसार कार्यालयले दिउँसो १ बजेदेखि ३ बजेसम्म बस्ने बैठकमा मात्रै कार्यालयका तर्फबाट खाजा खुवाउने भएको छ । कार्यालय समयको अन्य अवधिमा बैठक बस्दा १ घण्टाभन्दा बढीको बैठक भएमा मात्रै चिया र बिस्कुट खुवाउने प्रबन्ध गर्ने निर्णय पनि भएको छ ।
दिउँसो १ बजेदेखि ३ बजेको बीचमा खाजा २०० रुपैयाँसम्मको मात्रै हुने गरी खर्च व्यवस्थापन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निर्णयमा उल्लेख छ ।
कार्यालयले बैठक हलमा मात्रै बोतलको पानी प्रयोग गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी मन्त्रालयका सबै शाखा तथा महाशाखाहरुमा बोतलको सट्टा ‘गुणस्तरीय जार’कै पानी प्रयोग गर्ने निर्णय पनि भएको छ ।
सो व्यवस्थापनका लागि सचिवस्तरीय निर्णयबाट प्रशासन महाशाखालाई निर्देशन दिइएको छ । बोतलको पानीमा बढी खर्च हुने भएकाले जारकै पानी प्रयोगलाई अनिवार्य गर्न लागिएको हो ।
प्रधानमन्त्रीको कार्यालयमै खाजा र पानीका नाममा हुने खर्च कटौती गर्दा अन्य मन्त्रालयहरुलाई पनि दबाब पर्ने अधिकारीहरुको विश्वास छ ।