प्रधानमन्त्रीको चीन भ्रमणमा बिजुली व्यापारको एजेण्डा

काठमाडौँ । भदौ १४, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ५ असोजदेखि हुने चीन भ्रमणमा बिजुलीका एजेण्डाहरुले प्राथमिकता पाउने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतका अनुसार चीनसँग विद्युत व्यापार थालनी गर्ने प्रारम्भिक समझदारी गर्ने र विद्युत व्यापारको पूर्वाधार निर्माणलाई गति दिने विषयमा प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुनेछ ।
भारतले चिनियाँ लगानीका र चिनियाँ ठेकेदारले काम गरेका आयोजनाको बिजुली नकिनेकाले चीनतर्फ पनि बिजुली व्यापारको बाटो खोल्न प्रधानमन्त्रीको भ्रमणका बेला तयारी गरिएको हो ।
गत १७ जेठदेखि चार दिनसम्म भएको प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने गरी विद्युत व्यापारको दीर्घकालीन सम्झौता भएको थियो । तर नेपालले यसवर्ष प्रस्ताव गरेका करिब एक हजार मेगावाट बराबरका आयोजनालाई समेत भारतले निर्यात अनुमति दिएको छैन ।
४५२ मेगावाट बराबरका आयोजनाबाट उत्पादित बिजुलीलाई मात्र निर्यात अनुमति दिएकाले विद्युत प्राधिकरणले यो वर्षायाममा खपत हुन नसकेको सयौं मेगावाट बिजुली खेर फालिरहेको छ ।
त्यसैले अब उत्तरी छिमेकीसँग पनि विद्युत व्यापार गर्ने योजनामा सरकार पुगेको छ । त्यसका लागि प्रधानमन्त्रीको भ्रमण हुँदा पहल गर्न लागिएको हो ।