केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तिब्बती मार्ग हुदै हुम्लाका लागि चार हजार क्विन्टल चामल हिल्सा आइपुग्यो

सहयात्रा टिभी

काठमाडौँ । भदौ १४, काठमाण्डौबाट केरुङ हुँदै हुम्लाका लागि आएको चामल हिल्सा आइपुगेको छ ।

चामल लोड भएका गाडीले केरुङबाट तिब्बती मार्ग हुँदै चीनको ताक्लाकोटबाट हिल्सा आइपुग्न तीन दिन लगाएका थिए ।

हुम्लाका लागि चामल बोकेका ४० वटा गाडी हिल्सा आइपुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाले जनाएको छ । तीन दिन अगाडि चामल लोड भएका गाडी काठमाण्डौबाट छुटेका थिए ।

चामलको समस्या भएको बेला लिमिटेडले चार हजार क्विन्टल पैदल मार्गबाट पठाएको हो । जिल्लामा चामल समस्या देखिएका बेला केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सादेखि सिमकोटसम्म चार हजार क्विन्टल चामल हिल्सा आइपुग्ने लिमिटेड शाखाका प्रमुख कृष्ण अधिकारीले बताउनुभयो । चामल अब सिमकोट ढुवानी गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

ती चामलमध्ये एक हजार क्विन्टल नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ बिक्री केन्द्रका लागि र तीन हजार क्विन्टल सिमकोट शाखाका लागि ढुवानी हुनेछ ।

ती चामल अघिल्लो आर्थिक वर्षको हो । चामल सिमकोट पुगेलगत्तै सर्वसाधारणलाई बिक्री गरिने छ । तिब्बती मार्ग हुँदै आउने चामलको ढुवानी दर हवाई मार्गको भन्दा सस्तो पर्नेछ ।

काठमाण्डौ, केरुङ, तिब्बत र हिल्सा हुँदै सिमकोट पुगेको चामल प्रतिक्विन्टल सात हजार पाँच सय, नाम्खा गाउँपालिकाको याल्वाङसम्म ढुवानी हुने प्रतिक्विन्टल चामल चार हजार आठ सय रुपैयाँ ढुवानी लाग्नेछ ।

जब कि नेपालगञ्जबाट हवाई मार्गबाट ढुवानी हुने चामलको भाडा प्रतिक्विन्टल १६ हजार लाग्ने गर्छ भने सुर्खेतबाट प्रतिक्विन्टल १५ हजार रुपैयाँ लिमिटेडले तिर्दै आएको छ ।

 

प्रकाशित : 31 August, 2023

प्रतिक्रिया दिनुहोस्