केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतले सूर्यको अनुसन्धानका लागि पहिलो मिसन प्रक्षेपण गर्‍यो

सहयात्रा टिभी

काठमाडौं । भदौ १७, बीबीसी  -केही दिनअघि मात्रै चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्षयान अवतरण गराएर इतिहास रच्न सफल भएको भारतले सूर्यको अनुसन्धानका लागि आफ्नो पहिलो अन्तरिक्षयान प्रक्षेपण गरेको छ ।

शनिबार स्थानीय समय अनुसार ११ बजेर ५० मिनेट जाँदा भारतको श्रीहरीकोटाबाट आदित्य एल वान नामक अन्तरिक्षयान प्रक्षेपण गरिएको हो ।

यो यान पृथ्वीबाट १५ लाख किलोमिटर टाढासम्म पुगेर सूर्यको अध्ययन गर्नेछ । यो भनेको सूर्य र पृथ्वीबीचको कुल दूरीको एक प्रतिशत हो । यो दूरी तय गर्नका लागि आदित्य एल १ लाई चार महिनाको समय लाग्नेछ ।

उक्त अन्तरिक्षयानमा एल वान को अर्थ Lagrange point 1  हो । यो भनेको सूर्य र पृथ्वीको बीचमा रहेको त्यो क्षेत्र हो जहाँ भारतीय अन्तरक्षियान पुग्नेछ ।

युरोपेली अन्तरिक्ष एजेन्सीका अनुसार ल्यागरेन्ज विन्दु भनेको त्यस्तो ठाउँ हो जहाँ दुईवटा विशाल पिण्डहरु, जस्तै पृथ्वी र सूर्यको गुरुत्वाकर्षण बलले एक अर्कालाई निस्तेज पार्दछन् र फलस्वरुप त्यहाँ अन्तरीक्षयानहरु तैरिन्छन् ।

आदित्य एल वा उक्त ‘पार्किङ क्षेत्र’ पुगेसँगै पृथ्वीलाई परिक्रमा गर्ने गतिमै सूर्यलाई पनि परिक्रमा गर्न सक्नेछ र त्यसका लागि उक्त यानलाई निकै कम इन्धन आवश्यक पर्नेछ ।

शनिबार भारतीय अन्तरिक्ष एजेन्सी (इसरो) ले गरेको प्रक्षेपणको दृश्य हेर्नका लागि हजारौं मानिसहरु श्रीहरीकोटाको प्रक्षेपण स्थल नजिकै भेला भएका थिए । प्रक्षेपण सफल भएको र यसले सामान्य ढंगमा काम गरिरहेको इसरोका वैज्ञानिकहरुले बताएका छन् ।

इसरोका प्रमुख श्रीधर पानिकेर सोमनाथले भनेका छन्, ‘अब यसले आफ्नो यात्रालाई निरन्तरता दिनेछ । यो १३५ दिनको निकै लामो यात्रा हो । यसलाई शुभकामना दिउँ ।’

आदित्य एल वान आफनो गन्तव्यमा पुगेसँगै यसले भारतलाई मात्र नभई विश्व वैज्ञानिक समुदायलाई फाइदा पुग्ने उक्त परियोजना निर्देशक निगर शाजी बताउँछन् ।

एल वान विन्दुतर्फ हिंड्नु अगाडि यो यानले पृथ्वीलाई धेरैपटक परिक्रमा गर्नेछ । उक्त विन्दुबाट यो यानले सूर्यलाई निरन्तर अवलोकन गर्न सक्नेछ । ग्रहणका बेला यो नदेखिए पनि यसले निरन्तर वैज्ञानिक अध्ययन गरिरहनेछ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार यो सूर्य मिसनको लागत तीन अर्ब ७८ करोड भारतीय रुपैयाँ रहेको छ ।

 

प्रकाशित : 3 September, 2023

प्रतिक्रिया दिनुहोस्