नयाँ प्रविधिद्वारा हावामा आलुको बीउ उत्पादन

सहयात्रा टिभी

काठमाडौं । भदौ १७, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीस्थित खाद्यान्न तथा बीउ आलु, अलैँची, फलफूल नर्सरी उद्योगले नयाँ प्रविधिद्वारा ‘हावा’मा आलुको बीउ उत्पादन थालेको जानकारी प्राप्त भएको छ ।

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको आर्थिक सहयोगमा नयाँ प्रविधि ‘एरोपोनिक’ अर्थात् हावामा बीउ उत्पादन थालिएको हो ।

उक्त उद्योगले यसअघि माटोमा विभिन्न जातका आलुको बीउ उत्पादन गर्दै आएको थियो । ‘यस प्रविधिअन्तर्गत खाली बोतलमा मसिना बिरुवा उमारिन्छ ।

यसका लागि आवश्यक मलजल तथा अक्सिजन मेसिनबाट नै पठाइन्छ’, उद्योगका सञ्चालक शशि अधिकारीले भने । उनका अनुसार ४० दिनमा ती बिरुवाको जरामा झुप्पा बनी बीउ बन्दछन्।

एक बिरुवामा ५० देखि चार सयसम्म बीउ उत्पादन हुने अधिकारीले जानकारी दिए । उनका अनुसार उक्त प्रकृतिको बीउ उत्पादन गर्न उद्योगमा रू एक करोडमा छुट्टै प्रयोगशाला निर्माण गरिएको छ । नयाँ प्रविधि भएकाले अन्य जातका आलुको तुलनामा उत्पादनको परिमाणबारे यकीन गर्न नसकिएको उनको भनाइ थियो ।

यो प्रविधि नेपालमै नयाँ भएकाले यसप्रति कृषि प्राविधिकको चासो बढेको उद्योगका अर्का सञ्चालक राजेन्द्र थापाले बताए ।

उक्त उद्योगमा आलुको बीउ उत्पादनमा नयाँ प्रविधि ल्याइएपछि हाल कृषक, कृषि प्राविधिक तथा बीउ व्यवसायी अवलोकनका लागि आउने गरेका थापाले जानकारी दिए ।

उनका अनुसार उद्योगमा सिँचाइका लागि गत आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट रू ११ लाख ५४ हजार रकम विनियोजनसमेत गरिएको थियो ।

 

प्रकाशित : 3 September, 2023

प्रतिक्रिया दिनुहोस्