लम्पी स्किन पीडित किसानलाई राहत दिने मापदण्डको तयारी

सहयात्रा टिभी

काठमाडौँ । भदौ १९, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्कीन महामारीका कारण क्षति व्यहोरोका किसानलाई राहत दिने मापदण्ड तयार गरेको छ ।

पीडित किसानलाई मरेका पशुअनुसार कम्तीमा ५ हजारदेखि २० हजार रुपैयाँसम्म राहत दिने गरी राहत मापदण्ड बनाइएको हो ।

मन्त्रालयले तयार गरेको मापदण्ड आर्थिक विश्लेषणका लागि अर्थ मन्त्रालयमा पठाइएको कृषिमन्त्री डा. वेदुराम भुसालले जानकारी दिए ।

मापदण्ड बनाएका मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीका अनुसार किसानलाई नगदमै राहतको प्रस्ताव गरिएको छ । मापदण्डमा विवरण संकलन, प्रमाणीकरण र नगद राहत प्रस्ताव गरी तीन चरण प्रस्ताव गरिएको छ ।

किसानलाई दिने राहत पनि तीन प्रकारकै छ । किसानलाई ठूला वयस्क भैंसी र गाई मरेकोमा प्रति चौपाया २० हजार रुपैयाँ, स्थानीय जातको ठूला गाईरभैंसी, गोरु र राँगालाई १५ हजार र मृतक बाच्छारबाच्छीलाई ५ हजार रुपैयाँ राहत प्रस्ताव गरिएको हो ।

मन्त्रालयका अनुसार लम्पी महामारीका कारण भदौ दोस्रो सातासम्म देशभर ५२ हजार ५४८ पशु मरेको तथ्यांक छ । तर, अहिलेको तथ्यांकमा कति वयस्क, कति रैथाने र कति बाच्छा बाच्छीको मरेको हो भन्ने विवरण छैन ।

राहतमा ठूलो आर्थिक दायित्व सृजना हुने भएकाले गत सातामात्रै मापदण्डको सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ । यस्तै, गृह मन्त्रालयमार्फत क्षतिको विरवण संकलन र राहत वितरण हुने भएकाले गृहमा पनि सहमति माग गर्दै कृषिले पत्राचार गरेको छ ।

 

प्रकाशित : 5 September, 2023

प्रतिक्रिया दिनुहोस्