विधेयकमा सहमति जुटाउन ११ सदस्यीय उपसमिति गठन

काठमाडौं । भदौ २०, सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी विधेयकमा सहमति जुटाउन संसदीय उपसमिति गठन भएको जानकारी प्राप्त भएको छ ।
कानून, न्याय तथा मानव अधिकार समितिले विधेयकउपर दफावार छलफल गरेर प्रतिवेदन बुझाउने जिम्मेवारीसहित ११ सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिलाई १५ दिनको समय दिइएको छ ।
उपसमितिमा कांग्रेसबाट तीनजना, एमालेबाट दुई जना छन् । अन्यबाट एक–एक जना सदस्यहरु छन् । कांग्रेसबाट सदस्यको नाम टुंगो लाग्न बाँकी छ ।
एमालेबाट प्रतीक्षा तिवारी र चन्द्रबहादुर विश्वकर्मा समिति सदस्य छन् । नेकपा माओवादीबाट रामकुमार राई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सोविता गौतम, राप्रपाबाट ध्रुवबहादुर प्रधान, जनता समाजवादी पार्टी (जसपा)बाट रञ्जुकुमारी झा, एकीकृत समाजवादीबाट शेरबहादुर कुँवर र जनमत पार्टीबाट गोमा लाभ सापकोटा सदस्य छन् ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक गत माघ २७ गते प्रतिनिधिसभामा दर्ता भएको थियो ।