बार एसोसिएशन महिला समितिद्धारा कैदीबन्दीसँग तीजको दर कार्यक्रम
काठमाडौँ । भदौ २२, शुक्रबार बिहान मोरङ कारागारको महिला कक्षमा उच्च अदालत विराटनगर बार एसोसिएशन महिला समितिले कैदीबन्दी महिलासँग तीजको दर खाने कार्यक्रम राखेको थियो ।
दर खानका लागि भेला भएका कैदीबन्दीलाई प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले समस्या भए केही राख्न आग्रह गरे ।
सुरुमा कैदीबन्दीले बोल्न संकोच माने । पूर्वसांसद कैदी गुलेफुन खातुनले सुत्न नपाउने र पानी पनि खान नपाउने गुनासो गरेपछि अन्य कैदीबन्दीले रुदै समस्या सुनाए । समस्या सुनाएपछि प्रमुख जिल्ला अधिकारी यादवले तपाईका कुरा नोटिस भयो भन्दै फर्किए ।
कैदीबन्दीले रुदै समस्या सुनाएपछि आयोजकले औपचारिक कार्यक्रम छोट्याएर दर खाने कार्यक्रम सुरु गरेका थिए ।
कैदीबन्दीको समस्या सुनेपछि मोरङका प्रमुख जिल्ला अधिकारी यादवले समस्या सामधानका लागि पहल गर्ने बताए । नयाँ भवन निर्माण भइरहेका कारण भवन बनेपछि बस्नका लागि सहज हुने उनले बताए ।
महिला ५० र पुरुष २७५ गरी तीन सय क्षमता रहेको कारागारमा एक हजार ५५ जना कैदीबन्दी छन् । ती मध्ये ९४८ पुरुष र १०२ महिला छन् । पाँच जना नाबालक पनि कारागारमा छन् ।