फरार ‘भाइ-नाइके’लाई पक्राउ गर्न रेड कर्नर नोटिस जारी गर्ने तयारी
काठमाडौँ । भदौ २४, बर्दिया कारागारबाट भागेका ‘भाइ-नाइके’ ३० वर्षीय अजिबबुढा क्षेत्रीविरूद्ध प्रहरीले इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गर्ने तयारी गरेको छ।
भदौ १७ गते बिहान सवा ३ बजे बिहान उनी पर्खाल नाघेर फरार भएका थिए। रेड कर्नर नोटिस जारी भएका व्यक्तिलाई जुन देशमा फेला परेपनि पक्राउ गर्न सकिनेछ।
जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले फरार रहेका अजिब विरूद्ध औपचारिक रूपमा इन्टरपोलबाट रेडकर्नर नोटिस जारी गर्ने प्रक्रिया थालेको बताए। त्यसका लागि आवश्यक आग्रह गरिसकेको उनले बताए।
फरार रहेका अजिब नेपाल–भारत सीमा क्षेत्रको जंगलमा लुकेको आशंका गरिएको थियो। उनलाई खोज्न नेपाल प्रहरी र भारतीय प्रहरीसँग समेत समन्वय गरी खोजी गरिरहेको छ।
तर अझै फेला पर्न सकेका छैनन्। खोजी गर्नेक्रममा रोज नामक तालिमप्राप्त कुकुर समेत मरिसकेको छ।
पछिल्लो समय प्रहरी अधिकारीहरूले फरार अजिब भारत पुगेर लुकेर बसेको हुनसक्ने अनुमान गरेका छन्।
जिल्ला कारागारका ‘भाइ नाइके’ अजिब फरार भएपछि त्यसबारे छानबिन गर्न गठित समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाएको छ।
बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालको संयोजकत्वमा अजिब जेलको पर्खाल नाघेर भागेकै दिन पाँच सदस्य छानबिन समिति गठन गरेको थियो।