अखिल क्रान्तिकारीको आन्तरिक विवाद समाधान तर्फ उन्मुख

सहयात्रा टिभी

काठमाडौँ । भदौ २५, सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को आन्तरिक विवाद समाधान तर्फ उन्मुख भएको नेताहरुले जनाएका छन् ।

आज प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिव वर्षमान पुन अनन्त र अखिल क्रान्तिकारीका फ्रयाक्सन इन्चार्ज हिमाल शर्माको उपस्थितिमा विद्यार्थी नेताहरुसँग भएको छलफलपछि विवाद समाधान नजिक पुगेको दाबी नेताहरुको छ ।

अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत रहेका शर्माले बैठकपछिको तस्वीर सामाजिक सन्जालमा सार्वजनिक गर्दै अखिल क्रान्तिकारी एकताबद्ध भएको र यो आफ्ना लागि खुसीको क्षण भएको लेखेका छन् ।

अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएयता संगठनभित्रको विवाद उत्कर्षमा पुगेको थियो । नेता हितमान शाक्य फ्रयाक्सन इञ्चार्ज हुँदा पञ्चा नेतृत्वको कमिटी विधि र प्रक्रियाविपरीत गठन गरिएको भन्दै पवन कार्की समूहले समानान्तर गतिविधि गर्दै आएको थियो । अखिल क्रान्तिकारीभित्रको यो विवाद नेताहरुका लागि टाउको दुखाइको विषय भएको थियो ।

हिमाल शर्मा फ्रयाक्सन इञ्चार्ज भएपछि उनले विवाद समाधानको पहल लिएका थिए । उनले अखिल क्रान्तिकारीका दुबै पक्षसँग गरेको छलफलको आधारमा सहमतिका आठ बुँदे आधार तयार पारेर आज बिहान प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष प्रचण्डसमक्ष प्रस्तुत गरेका थिए ।

 

प्रकाशित : 11 September, 2023

प्रतिक्रिया दिनुहोस्