शंकर पोखरेलद्धारा सीपीसीका जियनचाओसँग भेटवार्तामा नक्सा बारे चर्चा

सहयात्रा टिभी

काठमाडौँ । भदौ २५, चीन भ्रमणमा रहेका नेकपा एमालेका महासचिव शंकर पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओसँग भेटवार्ता गरेका छन् ।

सोमबार बेइजिङमा भएको भेटमा सन् १८१६ मा भएको सुगौधी सन्धीले निर्धारण गरेअनुसार नेपालको नक्सा संसदबाट पास गरेर औपचारिक रुपमा जारी गरेको स्मरण गरे ।

त्यही कारण नेपालले दबाब र अप्ठ्याराहरुको पनि सामना गर्नु परेको भन्दै उनले भनेका छन्, ‘हामीले जारी गरेको नक्साको सन्दर्भमा हामी सोही अनुसार चीनको पनि साथ चाहन्छौं ।

चीन सरकार र चिनियाँ कम्युनिष्ट पार्टीको साथ चाहन्छौं ।’ नेपाल एक चीनको पक्षमा दृढ रहेको र नेपालको भूमिबाट चीन विरोधी गतिबिधि गर्ने कामलाई अस्वीकार गर्ने उनले बताए ।

एमाले महासचिव पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा गरेको चीन भ्रमण र चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा भएका सहमति तथा सम्झौता छिटो कार्यान्वयनको पक्षमा रहेको बताएका छन् ।

महासचिव पोखरेलले २०८४ सालको आमनिर्वाचनमा बहुमत प्राप्त गरेर स्थायी सरकार निर्माण गर्ने लक्ष्यका साथ आफ्नो दल एमाले क्रियाशिल रहेको समेत बताए ।

 

प्रकाशित : 11 September, 2023

प्रतिक्रिया दिनुहोस्