जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात
काठमाडौँ । भदाै २७, जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात भएको छ । जिल्लामा कुल स्याउ उत्पादनको विवरण सङ्कलन भइरहेको छ ।
यहाँका आठ वटै स्थानीय तहमा उत्पादन भएको स्याउ अहिलेसम्म २१ हजार एक सय १० मेट्रिकटन बाहिरी जिल्लामा गएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।
पछिल्लो समय जुम्ली किसानको स्याउ खेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको छ ।
अबको केही हप्तापछि जिल्लाभरको स्याउ उत्पादनको पूरै विवरण सार्वजनिक गरिने कृषि विकास कार्यालय जुम्लाका सुचना अधिकारी शेरबहादुर भण्डारीले बताउनुभयो ।
जिल्लामा अहिले जुम्ली, इटाली, गाला, गोल्डेन, फुजी र जोनाप्रिन्सलगायत स्थानीय जातका स्याउ खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाका प्रमुख खेमराज शाहीको भनाइ छ ।
स्याउ लिनका लागि स्थानीय व्यापारी उद्यमी र समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका कार्टुन कार्यालयले वितरण गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाले जनाएको छ ।
किसानको बगैँचाबाट प्रतिकेजी ६० रुपैयाँमा स्याउ खरिद गरेर करिब ८० क्विन्टल स्याउ दाङ लिएर बिक्री गरेको स्थानीय व्यापारी तुल तिरुवाले बताउनुभयो । जिल्लाको सिञ्जा भेगमा स्याउ खरिद गर्ने व्यापारी किसानको बगैँचामा पुग्ने गरेका छन् ।