सुधारको सन्दर्भमा घोषणा भन्दा धेरै कार्यान्वयनमा समस्या : अर्थमन्त्री

काठमाडौँ । भदौ २७, अर्थमन्त्री डा. प्रकाशशरण महतले सुधारको काम विगतमा खाइपाइ आएकाहरुको बीचमा अलोकप्रिय हुने भएकाले बाधा अड्चन आउने बताएका छन् ।
सुधारको सन्दर्भमा घोषणा भन्दा धेरै कार्यान्वयनमा समस्या रहेको उनको भनाइ छ ।
बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्यसमितिसँगको अन्तरक्रियाका क्रममा उनले विगतदेखिको परम्परा भत्काएर सुधार गर्न खोज्दा अड्चन सिर्जना गर्ने र राजनीिितक क्षेत्रबाट समेत दबाब आउने उनको अनुभव छ ।
आवश्यकता नदेखेका संरचना खारेज गर्ने सवालमा आफूले यस्तै दबाब झेल्नु परेको उनको भनाइ छ । ‘खाइपाइ आएकाहरु बीचमा म सबैभन्दा अलोकप्रिय हुने रहेछु,’ उनले भने ।
अर्थमन्त्री महतले अर्थतन्त्रमा गरिएका सुधारको नतिजा देखिन केही समय लाग्ने समेत बताए । ‘पेनफुल छ, स्लो छ, तर पोजेटिभ डिरेक्सनमा छ’, उनले भने, ‘कार्यान्वयनमा केही तगारो पनि छन्, त्यसकारण अपेक्षा अनुसार नतिजा देखिन समय लाग्छ ।’
आफूले इमानदारसाथ आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको भन्दै उनले सबै सरोकारवाला निकायले आफ्नो जिम्मेवारी पूरा गर्दा विद्यमान समस्याबाट माथि उठ्न समय नलाग्ने उनको भनाई छ ।