शनिबारसम्मै मेघ गर्जन सहित वर्षाको सम्भावना

काठमाडौँ । भदौ २८, गएराति काठमाडौं र आसपासका क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा भयो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा बढी वर्षा काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने धाप ड्याममा रेकर्ड भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।
यसको अर्थ पानी पार्ने प्रणाली भारततिर बढी छ । नेपालमा भारतको दक्षिण(पश्चिम उत्तर प्रदेश र त्यस आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्रै छ ।
मनसुनको समयमा जलवाष्पयुक्त हावा धेरै हुन्छ र पानी पर्छ । सामान्यतया मनसुनको समयमा मेघगर्जन र चट्याङ कम हुन्छ ।
तर हुँदै नहुने भन्ने चाहिँ हुँदैन । २०७९ साउन २४ गते र २०७८ भदौ २० गते पनि काठमाडौंमा हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा भएको थियो ।
नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ हो । सरदर मिति अनुसार मनसुनको अवधि अझै १५ दिन (यसमा केही दिन तलमाथि हुनसक्छ) बाँकी छ । अर्थात् अहिले ‘पोष्ट मनसुन’को समय छ ।
पोष्ट मनसुनको बेलामा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना हुने मौसमविद लामिछानेको भनाइ छ । मेघगर्जन र चट्याङ प्रि-मनसुनको समयमा बढी हुन्छ ।
।यद्यपि आज राति पनि मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा लेखिएअनुसार आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ
यसैगरी भदौ २९ गते शुक्रबार र ३० गते शनिबार पनि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।