खाँदबारीका कैदी मृत्यु प्रकरणमा १५ जना कारागार चलान

सहयात्रा टिभी

काठमाडौँ । भदौ २८, संखुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात प्रहरी र आठ कैदीलाई पुर्पक्षका लागि बुधबार कारागार चलान गरिएको हो ।

जिल्ला अदालत संखुवासभाका श्रेस्तेदार रामचन्द्र केसीका अनुसार जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले सात प्रहरीलाई धनकुटा र आठ कैदीलाई तेह्रथुम पठाउन आदेश दिएका हुन् ।

कारागार विभाग र जिल्ला सुरक्षा समितिको समन्वयमा प्रहरीलाई धनकुटा र कैदीलाई तेह्रथुम पठाइएको हो ।बुधबार सरकार र प्रतिवादीतर्फका आठ कानुन व्यवसायीले बहस गरेका थिए ।

कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरुमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा उनीहरूको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा ४१, दफा १७७ र दफा १८६ र अपराध पीडित संरक्षण ऐन, ७५ को क्षतिपूर्तिसम्बन्धी व्यवस्था आकर्षित हुने गरी मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालले जनाएकको छ । सबै अभियुक्तविरुद्ध जन्मकैदको मागदाबी गरिएको छ ।

गत साउन २४ गते संखुवासभाको मादी नगरपालिका-५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीको कुटपिटबाट मृत्यु भएको थियो ।

 

प्रकाशित : 14 September, 2023

प्रतिक्रिया दिनुहोस्