एक किलो सुन प्रकरणमा जोडिए तरुण दलका नेता विकास लामा

सहयात्रा टिभी

काठमाडौँ । भदौ २८, जिल्ला प्रहरी परिसर, काठमाडौंले बरामद गरेको करिब एक किलो सुन प्रकरणको अनुसन्धानमा काभ्रेका कांग्रेस नेता विकास लामा जोडिएका छन् ।

अनुसन्धानका सिलसिलामा यसमा कांग्रेसको युवा संगठन तरुण दलका नेता विकास लामाको संलग्नता देखिएको प्रहरीले बताएको छ ।

विशेष सूचनाका आधारमा मलद्वारमा लुकाएर दुबईबाट हिमालयन एयरलाइन्समार्फत मंगलबार बिहान साढे ९ बजे ल्याएको सुनसहित प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका–३ का बाबुलाल दोङलाई पक्राउ गरेको थियो ।

सुनका भरिया दोङलाई पच्छ्याउँदै जाँदा सुन लिन आउने काभ्रेको रोशी गाउँपालिका–३, घट्टेखोलाका जगत लामा र महाभारत गाउँपािलका–३, सानोपोखरा घर भई बनेपा बस्दै आएका दोर्जे स्याङ्तान पक्राउ परेका थिए ।

जानकारहरुका अनुसार, आपराधिक पृष्ठभूमिका उनी ज्यान मार्ने उद्योगमा ३ वर्ष जेल बसेर भीमफेदी कारागारबाट छुटेका थिए । उनी मोटसाइकल चोरीको अभियोगमा पनि पक्राउ परेका थिए ।

काठमाडौंका एसपी ढुंगेलले पनि उनी कैद सजाय भुक्तान गरेर छुटेको व्यक्ति भएपनि पूर्ण विवरण फेला परिनसकेको बताए । उनले भने, ‘क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) बाट विवरण निकाल्छौं ।’

वैदेशिक रोजगारीका लागि दुबई बसेका उनी फर्किएर आएपछि सुन तस्करीमा लागेको पाइएको एक अधिकृत बताउँछन् । पछिल्लो चार वर्षयता उनको जीवनशैली आश्चर्यजनक रुपमा फेरिएको जानकारहरु बताउँछन् ।

काठमाडौंका एसपी ढुंगानाका अनुसार, यो समूहले मलद्वारभित्र लुकाएर दुबईबाट सुन ल्याउने गरेको थियो ।

‘कालो टेपले बेरिएको २ वटा लाम्चो र डल्लो सुन जस्तो पहेँलो धातु फेला परेको थियो’, उनले भने, ‘पछि त्यो वस्तु सुन नै भएको पुष्टि भएको थियो ।’ बरामद सुनको तौल लिँदा ९६० ग्राम भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बाबुलाल सामान्य पारिवारिक पृष्ठभूमिका व्यक्ति हुन् । उनी यसअघि ५ पटक दुबई गएर काठमाडौं आएको भेटिएको छ ।

यस उनीहरुले यसअघि पनि सोही शैलीबाट सुन ल्याएको हुनसक्ने देखाएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

प्रकाशित : 14 September, 2023

प्रतिक्रिया दिनुहोस्