क्यानमा नेपाल टी २० लिग खेलेको पैसा माग्दै पुगे खेलाडी

सहयात्रा टिभी

काठमाडौँ । असोज २, नेपाल टी–२० लिग खेलेका काठमाडौं नाइट्सका खेलाडी तथा प्रशिक्षकले अहिलेसम्म पनि पारिश्रमिक नपाएको भन्दै नेपाल क्रिकेट संघ क्यानको ध्यानाकर्षण गराएका छन् ।

 

काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले खेलाडी तथा फिजियोले पाउनुपर्ने उचित रकम नपाएको भन्दै क्यानलाई पत्र पठाएर ध्यानाकर्षण गरेका हुन् ।

उनले पत्रमा खेलाडी र टिमले पाउनुपर्ने रकम निकासा गर्न क्यानले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे पनि अहिलेसम्म कुनै पनि औपचारिक जानकारी नआएको र कुनै पनि प्रक्रिया अगाडि नबढेकोले क्यानको ध्यानाकर्षण गरेको बताएका छन् ।

उनले आफूहरुले पाउनु पर्ने रकम निकासका बारेमा क्यानबाट कुनै पहल नभएमा आवश्यक कदम चाल्ने चेतावनी पनि दिएका छन् ।

क्यानले भने खेलाडीलाई पारिश्रमिक उपलब्ध गराउने प्रक्रियामा नै रहेको बताएको छ ।

लुम्बिनी अलस्टार्ससहित, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र विराटनगर सुपर किङ्सले नेपाली खेलाडीलाई पारिश्रमिक दिएको भए पनि काठमाडौं नाइट्स र फारवेष्ट युनाइटेडले नेपाली खेलाडीलाई ५० प्रतिशत पारिश्रमिक दिन बाँकी छ ।

यी टिमले श्रमस्वीकृतीलगायतका कारण देखाउँदै विदेशी खेलाडीलाई रकम दिएका छैनन् । नेपाल टी–२० लिग क्रिकेटको उपाधि विजेता लुम्बिनी अलस्टार्सले पनि अझै पुरस्कार रकम नपाएको गुनासो गर्दै आएको छ ।

प्रकाशित : 19 September, 2023

प्रतिक्रिया दिनुहोस्