युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्धारा संयुक्त राष्ट्र संघको महासभामा भावुक सम्बोधन

सहयात्रा टिभी

काठमाडौँ । असोज ३, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्नुभएको छ।

भावुक सम्बोधनका क्रममा उहाँले युक्रेनलाई रुसी आक्रमणबाट मुक्त गर्न विश्व समुदायलाई अपिल समेत गर्नुभएको छ ।

जेलेन्स्कीले रुसविरुद्धको युद्धमा थप समर्थन र साथ खोज्दै रुसले विश्वलाई नै युद्धमा धकेल्न खोजेको आरोप लगाउनुभयो । उहाँले रूसले खानादेखि ऊर्जासम्म सबै हतियार बनाएको आरोप समेत लगाउनुभयो ।

जलवायु परिवर्तन जस्ता साझा चुनौतीलाई समेत रुसले बेवास्ता गरेको भन्दै उहाँले रुसलाई आणविक हतियार राख्ने अधिकारसमेत नभएको दाबी गर्नुभयो ।

रुसका आणविक हतियार नियन्त्रण गरी रुसी राष्ट्रपतिलगायतलाई युद्ध अपराधीको रुपमा दण्डित गर्न पनि विश्व समुदायलाई उहाँले आग्रह गरेको बीबीसीले जनाएको छ ।

आफ्नो ट्रेडमार्क सैन्य पोशाक लगाएका जेलेन्स्की रुसले युक्रेनमा आक्रमण थालेपछि पहिलो पटक संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुनुभएको हो ।

यसैबीच संयुक्त राष्ट्रसंघको महासभामा रूसले युक्रेनमा गरेको आक्रमणलाई लिएर चर्को आलोचना भएको छ । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण शुरु गरेको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभालाई सम्बोधनमा गर्दै रुसलाई रिझाउने प्रयास नगर्न नेताहरुलाई आग्रह गर्नुभएको छ । बाइडेनले रूसको आक्रमणविरुद्ध ऐक्यबद्धता जनाउन सदस्य राष्ट्रलाई आग्रह गर्दा जेलेन्स्कीले त्यसतर्फ निकै चासो राखेको देखिन्थ्यो ।

बाइडेनले युक्रेन युद्ध र यसले निम्त्याउन सक्ने विश्व सुरक्षाबारे जोड दिएर कसैले पनि संयुक्त राष्ट्रसङ्घको बडापत्रको मूल सिद्धान्त त्याग्न नहुने बताउनुभयो ।

प्रकाशित : 20 September, 2023

प्रतिक्रिया दिनुहोस्