लम्पी स्किनको प्रभाव आर्थिक वृद्धिदरमा पर्ने एडीबीद्धारा प्रक्षेपण

काठमाडौँ । असोज ३, लम्पी स्कीनको प्रकोपको असर आर्थिक वृद्धिदरमा पर्ने एसियाली विकास बैंक (एडीबी) ले प्रक्षेपण गरेको छ ।
सन् २०२४ मा ४.३ प्रतिशतको आर्थिक वृद्धिदरको प्रक्षेपण गर्दै यस वर्ष लम्पी स्किनको असर आर्थिक वृद्धिदरमा देखिने बताएको छ । यस वर्ष सरकारले ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर प्राप्त गर्ने अनुमान गरेको छ ।
यस वर्ष वर्षायाममा पर्याप्त वर्षात नभएको र पशु चौपायामा फैलिएको लम्पी स्किनको प्रकोपले कृषि क्षेत्रको विस्तार संकुचित हुने एडीबीले जनाएको छ ।
यस वर्ष रियल इस्टेट थोक एवम् खुद्रा व्यापार, आवास तथा खाद्य सेवाको विस्तारले सेवा क्षेत्रले भने गति लिने एडीबीको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिमा देखिएको सुस्तता र नेपालको आयातको स्रोत मुलुक भारतमा मुद्रास्फीतिमा आएको कमीले नेपालको मूल्यवृद्धि भने नियन्त्रण भित्र रहने भएको छ ।
यस वर्ष सरकारले महत्वाकांक्षी राजस्व वृद्धि गर्ने लक्ष्य राखेको छ । त्यो राजस्वको लक्ष्य हासिल नभएमा वास्तविक बजेट घाटा अनुमान गरेभन्दा उल्लेख्य हुन सक्ने एडीबी नेपाल नियोगका प्रमुख अर्थशास्त्री इयान ह्यान्सनले बताए ।