दमननाथ ढुंगानाको टिप्पणीप्रति गगन थापाको प्रतिवाद

सहयात्रा टिभी

काठमाडौँ । असोज ३, बीपी साहित्य महोत्सव अन्तर्गत बुधबार ‘बीपीको विचार, आजको संविधान र अबको बाटो’ शीर्षक विषयमा संविधानविद् निलाम्बर आचार्य, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल थियो ।

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले सञ्चालन गरेको उक्त छलफलका क्रममा पूर्वसभामुख ढुंगानाले अहिलेको संविधानमा बीपी तत्व नभएको बताए । उनले संविधान माओवादीलाई खुशी पार्न ल्याइएको टिप्पणी गर्दै संविधान बनाउँदा कांग्रेस हाबी हुन नसकेको बताए ।

तर दर्शकदीर्घामा बसेर बहस सुनिरहेका महामन्त्री गगन थापाले ढुंगानाको भनाइको प्रतिवाद गरे । उनले आफू पहिलो र दोस्रो दुबै संविधानसभामा रहेको भन्दै पहिलो संविधानसभाको घटना सुनाए ।

‘त्यो बेलामा माओवादीको प्रस्ताव के थियो भने व्यक्तिले सम्पत्ति कति राख्न पाइन्छ भन्ने कुराको सीमा राख्नुपर्छ । अदालतको न्यायाधीश, स्वतन्त्र न्यायपालिका होइन दलले तोक्नुपर्छ भन्ने थियो’, थापाले भने ।

उनले अगाडि भने, ‘यो सबै कुरा लड्दा–लड्दा, जुध्दा–जुध्दा अन्तिममा संविधान नबने बन्दैन तर नेपाली कांग्रेसले आफ्नो फन्डामेन्टल कुरासँग कम्प्रमाइज गर्दैन भनेर पहिलो संविधानसभामा अडिएर बसेको हो । त्यसैले तिमीहरु लडेनौं भन्ने कुरालाई यहाँ बसेर टुलुटुलु स्वीकार्न सकिएन ।’

महामन्त्री थापाले २०४७ सालको संविधानपछि पनि कांग्रेसले सानो दल राप्रपाका नेता सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाएको स्मरण गरे ।महामन्त्री थापाले दल र नेताहरुको अक्षमताको भारी संविधानलाई बोकाउन नहुने बताए ।

‘बीपी कोइरालाले के भन्नुभएको रहेछ भने संविधानको जीवन्तता शासकको मनोवृत्तिमा निर्भर रहन्छ त्यसैले संविधान बनाएर काम गर्न नसकेको भारी संविधानलाई पनि नबोकाऔं, बीपी कोइरालालाई पनि नबोकाऔं’, उनले भने ।

 

प्रकाशित : 20 September, 2023

प्रतिक्रिया दिनुहोस्