तीन सातादेखि अरुण तेस्रो परियोजनाको विद्युत् गृहको काम ठप्प
काठमाडौँ । असोज ३, सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहको काम ठप्प छ ।
अरुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै स्थानीयले झण्डै तीन सातादेखि काम ठप्प पारेका हुन् ।
स्थानीयको अवरोधका कारण अरुण तेस्रोको विद्युत गृहस्थल र प्रवेशमार्गको काम ठप्प छ । अरुण प्रवेशमार्ग संघर्ष समितिका संयोजक जनीकुमार राईले सरकारले माग सुनुवाइ नगरेपछि आन्दोलनमा उत्रिनुपरेको बताए ।
स्थानीयले प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको २४ किलोमिटर क्षेत्रको मुआब्जा माग गर्दैआएका छन् ।
छ्याङकुटीबाट पुखुवासम्म चार सय ५४ रोपनी जग्गाको मुआब्जा प्राप्त गर्न बाँकी छ । मुआब्जा रकम जिल्ला प्रसासन कार्यालयको खातामा नआएसम्म आन्दोलन जारी रहने पीडितको भनाइ छ । उनीहरु मुआब्जा माग गर्दै विगत सात वर्षदेखि आन्दोलित छन् ।
अरुण तेस्रो निर्माण गरिरहेको भारतीय सतलज जलविद्युत् निगमसँगको आयोजना विकास सम्झौता ९पीडीए०मा स्थानीयको अवरोधका कारण काम रोकिए दैनिक आठ करोड रूपैयाँ नेपाल सरकारले क्षतिपूर्ति व्यहोर्नुपर्ने शर्त उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयमा गठित छुट मुआब्जा निर्धारण समितिले गत २६ वैशाख छयाङकुटी–दिदिङ सडकखण्डको प्रतिरोपनी ११ लाख ७५ हजार रूपैयाँ दिने निर्णय गरेको थियो । तर हालसम्म प्रभावितले मुआब्जा पाएका छैनन् ।
आयोजनाबाट नेपालले २१ दशमलव नौ प्रतिशत अर्थात् एक सय ९७ मेगावाट बिजुली निःशुल्क पाउने बताइएको छ ।
आयोजना बनाउन एक खर्ब १५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ । अरुण तेस्रो विद्युत् आयोजनामा नेपाली र भारतीयसहित तीन हजार बढी मजदुर कार्यरत छन् ।