सभामुख घिमिरे र आयरल्यान्डका समकक्षीबीच भेटवार्ता

सहयात्रा टिभी

काठमाडौँ । असोज ४, आयरल्यान्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले आयरल्यान्डका समकक्षीसँग भेट गरेका छन् ।

सभामुख घिमिरेले बुधबार साँझ आइरिस संसद्‌को तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलसँग भेट गरेका हुन् । भेटमा दुई देशका संसदबीच संसदीय आदान प्रदान, द्विपक्षीय सहयोग लगायतका विषयमा कुरा भएको भेटमा सहभागी सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए ।

नेपाल र आयरल्याण्डबीच सन् १९९९ अगस्ट १९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । दुई देशबीच विगतमा पनि उच्चस्तरीय भ्रमण हुँदै आएका छन् । सन् २०१९ मा आयरल्यान्डको प्रतिनिधिसभाका सभामुख सान ओ फारगेलले नेपाल भ्रमण गरेका थिए ।

उक्त भेटमा सभामुख घिमिरेले उच्चस्तरीय भ्रमणले दुई देशको आपसी बुझाइ, सदभाव तथा सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे । ‘दुई देशको सम्बन्ध प्रगाढ र बलियो बनाउन हाम्रा संसद र सांसदहरुको भूमिका छ,’ सभामुखले भेटमा भन्नुभयो, संसदीय अभ्यासको आपसी अनुभव आदान प्रदानमार्फत संसदीय लोकतन्त्रलाई परिस्कृत गर्दै आफ्ना नागरिकहरुका हक अधिकार सुनिश्चित गर्न सकिन्छ ।’

सभामुख घिमिरेले नेपालमा नयाँ संविधान जारी भएपछि दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भइसकेको जानकारी दिँदै संविधानले प्रदान गरेका मौलिकहरुलाई कार्यान्वयन गर्न धेरै कानूनहरु निर्माण भइसकेको र केही कानुनहरु निर्माणका लागि संसदले काम गरिरहेको जानकारी दिएका थिए । उनले नेपालको संघीय संसदमा मैत्री समूहहरु निर्माणको चरणमा रहेको जानकारी दिँदै आयरल्यान्डसँग सम्बन्ध स्थापित गर्न नेपाल–आयरल्यान्ड मैत्री समूह गठन गर्ने जानकारी दिए । उनले संसदीय अभ्यास सिकाइका लागि दुई देशको संसदका कर्मचारीबीच आदान प्रदान कार्यक्रम सञ्चालन गर्न सकिने धारणा राखेका थिए ।

सभामुख घिमिरेले संयुक्त राष्ट्र संघ, अन्तर–व्यवस्थापिका संघ जस्ता बहुपक्षीय मञ्चहरूमा जलवायु परिवर्तन र यसका प्रभावजस्ता विश्वव्यापी साझा मुद्दामा नेपाल र आयरल्याण्डले सहकार्य गर्न सक्ने धारणा राखेका थिए ।

आयरल्याण्डको प्रतिनिधि सभाका सभामुख सान ओ फारगेलले सन् २०१९ मा भएको नेपाल भ्रमणमा आफूले पाएको न्यायो स्वागतको स्मरण गरेका थिए । उनले नेपाल प्राकृतिकरुपमा धनी देश रहेको बताउँदै आफूले नेपालजति सुन्दर मुलुक आफूले त्यसअघि भ्रमण नगरेको समेत उल्लेख गरेका थिए । उनले आयरल्यान्डमा दुई देशको संसदीय मैत्री समूह गठन भइसकेको जानकारी दिँदै संसदीय आदान प्रदानमा जोड दिए ।

सभामुख घिमिरेले बुधबार नै आवास, स्थानीय सरकार तथा सम्पदा मन्त्री दर्राघ ओब्रायनसाग भेट गरेका थिए । आइरिस संसद्‌को तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणामा आइतबार एक साताका लागि सभामुख घिमिरे आयरल्यान्डको राजधानी डब्लिन गएका थिए । औपचारिक भ्रमण पूरा गरी सभामुख नेतृत्वको टोली असोज ७ गते नेपाल फर्कने कार्यक्रम छ ।

प्रकाशित : 21 September, 2023

प्रतिक्रिया दिनुहोस्