पलको ‘कमब्याक’ फिल्म ‘मायावी’को छायांकन मुस्ताङबाट सुरु
काठमाडौँ । असोज ७, अभिनेता पल शाहको ‘कमब्याक’ फिल्म ‘मायावी’को छायांकन आइतबारदेखि मुस्ताङबाट सुरु भएको छ ।
मुस्ताङको नीलगिरि हिमाल क्षेत्रबाट सुरु भएको छायांकन नेपाल र भारतका विभिन्न क्षेत्रमा ३५ दिनसम्म चल्नेछ ।
एक वर्ष लामो हिरासत बसाइपछि रिहा भएका पलको यो पहिलो औपचारिक फिल्म छायांकन हुनेछ । निर्देशक दिवाकर भट्टराईले नीलगिरि आसपासमा पलसहित दीपिका प्रसाईं र समिम खान फिचर्ड गीतको सुटिङ गर्दै छायांकन सुरु भएको बताए ।
रिहा भएपछि पनि पललाई फिल्ममा कमब्याक गर्न मुस्किल भइरहेको थियो । दिनेश राउतसँग उनले फिल्मबारे छलफल पनि गरेका थिए । तर राउतसँग पलले गर्ने फिल्म तत्काल नबन्ने बुझिएको छ ।
नीलगिरिमा खिचेपछि ‘मायावी’को बाँकी ९० प्रतिशत छायांकन पोखरा र भारतमा गर्ने योजना छ । फिल्ममा करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, सुशील सिटौला लगायतको समेत अभिनय हुनेछ ।