नेपालगन्जमा ‘परदेशी २’ टीम: नाटकबाटै दर्शकको मन जित्दै
काठमाडौं । असोज ८, यहि असोज २६ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘परदेशी २’ यतिबेला चर्चामा छ ।
चर्चासँगै प्रचार-प्रसारमा होमिएको फिल्म ‘परदेशी २’ को टिमले आइतबार नेपालगन्जमा पत्रकारहरुसँग साक्षात्कार गर्दै परदेशी -२ आफ्नै घर-परिवारको पीडा, ब्यथा र पारिवारिक बाध्यताको कथा दर्शाएको बताएका छन् ।
शनिबार चितवन हुँदै नेपालगन्ज आइपुगेको ‘परदेशी २’ को टिमले शनिबारकै दिन नेपालगन्जमा रहेको सिनेमाघर सिने रोयल र क्यु एफ एक्स भिजिट गर्नुका साथै हलमा चलचित्रको ट्रेलर देखाउदै दर्शकसंग प्रत्यक्ष फिल्मको बारेमा बोल्दै असोज २६ गते फिल्म हेर्नका लागि आग्रह समेत गरे ।
दर्शकमाझ गायक प्रकाश सपूत, अभिनेत्री केकि अधिकारी र निर्देशक नारायण रायमाझीको उपस्थिति रहेको थियो । टिमले नेपालगन्जका विभिन्न विद्यालयहरुमा भिजिट गर्नुका साथै फिल्मको कथा बोल्ने थिम ड्रामा प्रस्तुत गर्दै फिल्मको प्रचार-प्रसार गरेको थियो । जुन ड्रामा हेरेपछि धेरै विद्यार्थीहरु भाबुक समेत बनेका थिए ।
कलेज क्याम्पेनिङ्ग सक्किए लगत्तै परदेशी-२ टिमले नेपालगन्जका पत्रकारहरुसँग साक्षात्कार गरेका थिए । चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाको समन्वयमा आयोजना गरिएको उक्त साक्षात्कार कार्यक्रममा ‘परदेशी २’ को मुख्य भूमिकामा रहेका गायक तथा अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी, निर्देशक नारायण रायमाझीलगायतको उपस्थिति रहेको थियो ।
साक्षात्कार कार्यक्रममा बोल्दै अभिनेत्री अधिकारीले ‘परदेशी २’ निर्माणमा एउटा सक्षम टिम लागेको बताउँदै फिल्मले हरेक नेपालीको कथालाई प्रस्तुत गरेको बताइन् ।
साथै उनले बाँकेमा आफ्नो धेरै फिल्महरु छायांकन भएको बताउँदै भनिन्- ‘बाँकेमा नेपाली फिल्मलाई माया गर्ने धेरै व्यक्तिहरु हुनु हुन्छ । बाँके मेरो दोस्रो घर हो । यहाँ मेरो धेरै चलचित्र छायांकन भएका छन् ।’
कार्यक्रममा निर्देशक रायमाझीले ‘परदेशी २’ ले विदेशीने युवाहरुको ब्यथा, उनीहरुको परिवारको अवस्थालगायतका विषयलाई समेटेको बताए । उनले ‘परेदशी २’ को कथावस्तुले दर्शकलाई मनोरञ्जनसँगै भावुक बनाउने विश्वास व्यक्त गरे । साथै उनले फिल्ममा कथाको मागअनुसार सक्षम कलाकारहरुलाई समेटिएको बताए ।
यस्तै अभिनेता सपूतले ‘परदेशी २’ आफ्नो पहिलो फिल्म भएको र कथाको माग अनुसार आफूले काम गर्न पूर्ण कोशिस गरेको बताए ।
उनले ‘परदेशी २’मा नेपाली दर्शकको चाहनालाई पूरा गर्नेगरी निर्माण गरिएको बताए । अफ्नो पहिलो फिल्म भएकाले पनि नर्भस भएको र त्यो नर्भस चलचित्रको सफलतासंगै हराउने र अझै राम्रो काम गर्ने उर्जा मिल्ने बताए । मलाई गायकको रुपमा आजसम्म माया गरिदिनु भएको छ। आशा छ नायकको रुपमा पनि माया गरिदिनु हुने छ ।
चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा सचिव विक्रम बुढाक्षेत्रीले स्वागत गर्दै खुल्ला अन्तरक्रिया गराएका थिए । कार्यक्रममा जिल्लाका विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।
‘परदेशी २’ मा प्रकाश र केकीसहित वर्षा शिवाकोटी, दिलिप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लु र रोशनी कार्कीलगायतको अभिनय रहेको छ ।
साथै साक्षात्कार कार्यक्रमपश्चात ‘परदेशी २’ को टिमले नाटकसमेत प्रस्तुत गरेको थियो । सांगीतिक लहरसँगै संवादमा आएर टुंगिएको उक्त नाटक हेर्ने धेरैको आँखा रसाएको थियो ।