अभियन्ता ईः का प्रतिनिधि र महानगरका प्रतिनिधिबीच वार्ता सुरु

सहयात्रा टिभी

काठमाडौं । असोज ९, साना सडक व्यवसायीलाई विकल्पसहितको व्यवस्थापन गर्न माग गर्दै ८ दिनदेखि प्रदर्शनरत अभियन्ता ईः र काठमाडौं महानगरबीच वार्ता सुरु भएको छ ।

वार्तामा अभियन्ता ईः र मेयर बालेन शाह दुवै सहभागी छैनन् । मंगलबार भने वार्ता टोली बनाएर औपचारिक वार्ताको प्रस्ताव गरेको हो ।

ईःका तर्फबाट विवेकशील अभियानका सहसंस्थापक गोविन्द नारायणको नेतृत्वमा अधिवक्ता सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सडक व्यवसायीका प्रतिनिधि सुजन गिरी र शहरी पूर्वाधार विज्ञ राज महर्जन वार्तामा सहभागी छन् ।

महानगरपालिकाका तर्फबाट महानगरका प्रवक्ता नवीन मानन्धर, वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख बसन्त आचार्य, कुमार ब्यञ्जनकार र धिरज जोशी सहभागी छन् ।

सुरुमा ईः आफू स्वयं पनि वार्तामा जाने तयारीमा थिए । तर, महानगरबाट मेयर शाह नआउने भएपछि उनले आफू नगई टोलीलाई छलफलमा पठाउने निर्णय गरेका हुन् ।

ईः सहित अभियन्ताहरुले बुझाएको खाकामा फुटपाथ व्यवसाय तत्काललाई बिहान र बेलुका अस्तव्यस्त नहुने ठाउँमा खोल्न दिने प्रस्ताव थियो ।

जफत गरिएका साइकल, गाढा लगायतलाई फिर्ता वा मुआब्जा दिने प्रस्ताव गरिएको थियो । दीर्घकालका लागि वैकल्पिक स्थानको व्यवस्थापन गरेर जाने मोडालिटीमा जान सकिने भनिएको थियो ।

 

प्रकाशित : 26 September, 2023

प्रतिक्रिया दिनुहोस्