विश्व मुटु दिवस : व्यायाम अभाव र असन्तुलित खानपानले जोखिम बढ्दो

काठमाडौं । ‘मन लगाऔँ मुटु बचाऔँ’ भन्ने नाराका साथ आज नेपालमा पनि मुटु दिवस मनाइँदै छ । नेपालमा पछिल्लो समय बढ्दै गइरहेको नसर्ने रोगको जोखिममध्ये मुटु रोग प्रमुख समस्याका रूपमा देखिँदै आएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा गरेको अध्ययनले कुल मृत्युको ७१ प्रतिशत नसर्ने रोग प्रमुख कारण भएको देखाएको छ । त्यसमा पनि सबैभन्दा बढी अर्थात् २८ प्रतिशत मुटु रोग पर्दछ । स्वास्थ्य मन्त्रालयले पछिल्लो दशकमा नसर्ने रोगको प्रकोप बढ्दै गएको जनाएको छ ।
पछिल्लो एक दशकलाई हेर्ने हो भने सङ्क्रामक रोगभन्दा दुई तिहाइ बढी अर्थात् ७० प्रतिशत मृत्यु नसर्ने रोगबाट हुने गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकी बताउँछन् । ‘नसर्ने रोगहरूमा पनि कार्डियोभास्कुलर डिजिज भन्छौँ- मुटु सम्बन्धी रोगले लगभग २४ प्रतिशत ज्यान लिइराखेको छ’, उनी भन्छन् ।
काठमाडौंको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार यो अस्पतालमा दैनिक ओपीडी तथा इमर्जेन्सी गरी ३ सय जनासम्म बिरामी आउने गरेका छन् । त्यसमध्ये इमर्जेन्सीमा मुटुको धमनीको समस्या लिएर आउने सबैभन्दा धेरै छन् ।
यस्तै गंगालाल अस्पतालमा भने दैनिक ८ सय जना बिरामी आउने गरेका छन् । यहाँ भर्ना हुने ५० प्रतिशतभन्दा बढी हृदयाघातका बिरामी हुने गरेको अस्पतालले जनाएको छ ।
खानामा चिल्लो पदार्थ बढी हुँदा र धुम्रपान, मध्यपानलगायतका कारण मुटु रोगको जोखिम हुन्छ । शरीरको तौल सन्तुलनमा राखी दैनिक व्यायाम गर्न सके जोखिम कम गर्न सकिने चिकित्सक बताउँछन् ।
सरकारले १५ वर्षमुनिका र ७५ वर्ष माथिकालाई मुटुको उपचार नि:शुल्क गरेको छ । सबै प्रदेशमा मुटु रोगका अस्पताल विस्तार गर्ने सरकारी लक्ष्य भने अधुरै छ ।