केपी ओली प्रचण्ड माधव नेपाल एमाले


क्यान्सर रोग सम्बन्धी सतर्कता अपनाऔंः सम्पादकीय

सहयात्रा टिभी

सम्पादकीय-आज क्यान्सर सतर्कता दिवसका अवसरमा देशमा देखापरेका विभिन्न प्रकारका क्यान्सरको बारेमा तथ्यांक संकलन भएका छन् ।

शहरीया जीवनशैली र खानपानका कारणले क्यान्सरका रोगीहरू बढिरहेको तथ्यांकले पुष्टि गरेको छ । सूर्तीजन्य पदार्थको प्रयोग, रासायनिक मल र किटनाशक विषादीको प्रयोग गरिएका, मिसावट भएका खाना र प्रदूषणका कारण क्यान्सरका रोगी बढिरहेको तथ्यांकलाई हेर्दा हामीमा अझै सतर्कताको महशुस हुनु जरुरि देखिएको छ ।

यसै सतर्कता दिवसलाई सफल पार्ने सानो प्रयासमा हामी पनि जुट्नु आजको आवश्यकता देखिन्छ । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आउने नयाँ बिरामीहरुमध्ये २० प्रतिशतलाई क्यान्सर पुष्टि हुने गरेको पाइएको छ ।

अस्पतालले सार्वजनिक गरेको तथ्यांकका आधारहरुलाई हेर्दा सन् २०२२ मा उपचारका लागि आएका ३२ हजार ३१४ विरामीहरुमध्ये ६ हजार ४४६ जनालाई क्यान्सर पुष्टि भएको हो ।

क्यान्सर रोग पहिचान हुनेमा पुरुषभन्दा महिलाको संख्या बढी छ । अस्पतालका अनुसार सन् २०२२ मा २ हजार ८६८ जना पुरुष र ३ हजार ५७८ जना महिलामा क्यान्सर रोग पुष्टि भएको थियो ।

तथ्यांकालाई हेरेर गरीएको अनुमानका आधारमा नेपालमा बर्सेनि ५० देखि ७० हजार नयाँ क्यान्सरका बिरामी थपिन्छन् । तीमध्ये ३५ प्रतिशत मात्रै अस्पतालमा आउने गरेका छन् । अस्पतालमा दर्ता भएका बिरामीहरुको संख्याको आधारमा नेपालमा तीव्र रुपमा क्यान्सर रोगी बढिरहेको चिकित्सकहरुको भनाइ छ ।

सूर्तीजन्य सामग्रीको प्रयोग क्यान्सर लाग्ने ३० प्रतिशत कारक बन्ने गरेको तथ्यांकले देखाउँछ । सूर्तीजन्य पदार्थको प्रयोग, रासायनिक मल र किटनाशक विषादीको प्रयोग गरिएका, मिसावट भएका खाना र प्रदूषणका कारण क्यान्सरका रोगी बढिरहेको चिकित्सकको भनाइ छ ।

पछिल्लो पाँच वर्षको तथ्यांकलाई हेर्दा क्यान्सर भएर वा आंशकामा अस्पतालमा आएर जाँच गराउने बिरामीको संख्या बढ्दै गएको देखिन्छ । सचेतना बढ्दा बिरामीहरु ओपीडीमा थपिएको र सतर्कता अपनाएको बुझिन्छ ।

क्यान्सर अस्पतालले बिरामीहरुको उपचार मात्रै नभई क्यान्सर सम्बन्धी बिभिन्न सचेतनामूलक कार्यक्रम पनि गर्दै आएको छ । देशका विभिन्न जिल्लामा फरक–फरक समुदायमा क्यान्सर स्क्रिनिङ सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ ।

सरकारले महिलाहरुको पाठेघरको मुखको क्यान्सरको जाँचलाई प्राथमिकतामा राखेको छ । अस्पतालले गत वर्ष ५ हजार ६९२ जनाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ र ६ हजार ४५ जनाको स्तन क्यान्सरको स्क्रिनिङ गरेको थियो ।

क्यान्सर अस्पतालले स्तनको क्यान्सर, व्यक्तिगत सरसफाइ र क्यान्सरबाट जोगिने उपायका बारेमा जनचेतना फैलाउने काम पनि गर्दै आएको छ ।

अस्पतालले सूर्तीजन्य पदार्थका कारण हुने फोक्सोको क्यान्सरबाट जोगिन अपनाउनुपर्ने सावधानीका बारेमा सडक नाटक, विद्यालयहरूमा गएर क्यान्सर रोगका बारेमा जनचेतना फैलाउने काम गर्दै आएको छ ।

सरकारले क्यान्सरका रोगीलाई उपचारका लागि एक लाख बराबरको उपचारमा सहयोग गर्दै आएको छ । यस्तै विभिन्न प्रदेश सरकारले समेत क्यान्सरको उपचारमा सहयोग गर्दै आएका छन् ।

समयमै यसको पहिचान गर्न सके भोलिका दिनमा हामीले पनि अकाल मृत्युको सामना गर्नुपर्ने अवस्था आउदैन कि सचेत हौं । क्यान्सर अस्पताल सँगसँगै हामी पनि आजैबाट क्यान्सर र यसको भयाबह स्थितिप्रति सतर्क रहौं ।

 

प्रकाशित : 29 September, 2023

प्रतिक्रिया दिनुहोस्