उच्च अदालतद्धारा अरनिको बसपार्क नभत्काउन महानगरलाई आदेश

सहयात्रा टिभी

काठमाडौँ । असोज १२, उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क नभत्काउन आदेश दिएको छ ।

न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले अल्पकालन अन्तरिम आदेश जारी गर्दै काठमाडौं महानगरपालिकालाई उक्त बसपार्क नभत्काउन भनेको हो ।

‘कम्पनीले बसपार्क सञ्चालनका लागि व्यक्तिहरुको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनाहरुलाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नु नगराउनु भनी मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८(२)(ख) तथा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१)(क) बमोजिम विपक्षीहरुका नाममा अल्पकालीन अन्तरिम आदेश गरिदिएको छ,’ आदेशको जानकारी विपक्षीहरुलाई दिनु’ सुनुवाइमा भनिएको छ ।

आदेश जारी नपर्ने आधार, कारण र प्रमाण भए सबुद प्रमाणसहित म्याद, सूचना पाएका मितिले बाटाका म्याद बाहेक १५ दिन भित्र आफैं वा कानुन बमोजिमको वारेस मार्फत लिखित जवाफ पेश गर्न समेत अदालतले महानगरलाई भनेको छ ।

दुवै पक्ष राखेर छलफल गरे पश्चात मात्र अन्तरिम दिने वा नदिने भएकोले १४ असोजमा छलफलको लागि अदालतले पेशी तोकिदिएको छ ।

 

प्रकाशित : 29 September, 2023

प्रतिक्रिया दिनुहोस्