अनमोल केसी नर्भिक अस्पतालमा भर्ना
काठमाडौं । असोज १३, फिल्म ‘रावायण’को विवादका कारण पक्राउ परेका अभिनेता अनमोल केसी नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
छातीमा पीडा भएपछि उनलाई शुक्रबार राति नै अस्पताल भर्ना गरिएको जानकारी उनी निकट एक फिल्म निर्माताले बताए । भक्तपुरको साँगामा बेलुका पक्राउ गरेर प्रहरीले उनलाई अपराध महाशाखा बानेश्वरमा ल्याएको थियो ।
त्यहाँ उनलाई भेट्न उनी निकट फिल्मकर्मी पुगेका थिए । अनमोलको आगामी फिल्म ‘जेरी अनटप’का निर्माता सरोज न्यौपानेले छातीमा केही समस्या भएपछि अनमोललाई नर्भिकमा भर्ना गरिएको जानकारी दिए ।
अपराध महाशाखा पुगेका निर्माता न्यौपानेले आफूसँगको भेटमा अनमोलले ‘दाई बरु म जेलमै बस्छु तर, नराम्रो मूभी त गर्दिनँ’ भनेर बताएको सामाजिक सञ्जालबाट जनाएका छन् ।
‘रावायण’ फिल्मको तर्फबाट निर्मात्री सुप्रिया कटुवालले १० लाख रुपैयाँ पेस्की लिएर पनि अनमोलले फिल्म खेल्न नमानेको भन्दै प्रहरीसामू आपराधिक विश्वासघातको उजुरी दिएकी थिइन् । उनको उजुरीको आधारमा प्रहरीले पक्राउ पूर्जी जारी गर्दै पक्राउ गरेको हो ।
प्रहरीले आइतबार अनमोललाई अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।