मालढुङ्गा–बेनी सडक अवरुद्ध, आवागमन ठप्प

सहयात्रा टिभी

पर्वत। असोज १७, पर्वत, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ ।

केही दिनदेखि निरन्तरको वर्षासँगै पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिरोले सडक अवरुद्ध बनेको हो ।
वर्षासँगै पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउने कामसमेत हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेले जानकारी दिए ।

यस क्षेत्रमा अहिले पनि ठूलो वर्षा भइरहेको छ । पहिरो खस्नसमेत रोकिएको छैन । वर्षा रोकिएलगत्तै सडक खुलाउनका लागि डोजर र सुरक्षाकर्मी परिचालन गरिने उनको भनाइ छ ।

सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीबाट छुटेका सवारीसाधन मिलनचोकमा थन्किएका छन् भने अन्यत्रबाट आएका सवारीसाधन लस्तीबजारमा रोकिएका छन् । केही साना सवारीसाधन भने बागलुङतर्फबाट वैकल्पिक मार्गको प्रयोग गरी गन्तव्यतर्फ गइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 4 October, 2023

प्रतिक्रिया दिनुहोस्