९ किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकका ड्राइभर पक्राउ

काठमाडौं । असोज १७, विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा प्रहरीले तस्कर समूहका चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेललाई पक्राउ गरेको छ ।
चौतर्फी दबाबपछि सीआईबीले १३ भदौमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई पक्राउ गरेर सुन तस्करीबारे फेरि अनुसन्धान थालेको थियो । दोस्रो पटक थालिएको अनुसन्धानका क्रममा पौडेल पक्राउ परेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेशभित्र ७३ बट्टामा ७३० वटा भेप बरामद भएको थियो ।
यसअघि सीआईबीले दायर गरेको मुद्दाको अभियोग पत्रमा उनलाई सुन ल्याउने समूहका व्यक्तिहरुको सूचीमा राखिएको थियो । त्यसमा तस्कर समूहका दाओजिङ वाङसँग उनको ६५१ पटक सम्पर्क भएको विवरण राखिएको थियो ।
अर्का चिनियाँ नागरिक लुईले समेत उनलाई ३ पटक फोन गरेका थिए । यही प्रकरणमा ब्यूरोले सोमबार पूर्वसभामुख महरालाई समेत बयान कागज गराएको थियो ।