सीआईबीको अनुसन्धान पछि त्यसमा भएका कमीकमजोरी जाँचबुझ आयोगले हेर्ने

सहयात्रा टिभी

काठमाडौँ । असोज १८, सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेका बेला आफूले अध्ययन नगर्ने बताएको छ ।

तर सीआईबीले अनुसन्धान सकेपछि त्यसमा कुनै कमीकमजोरी भएको छ कि छैन भनेर चाहिँ आयोगले हेर्ने छ ।

सरकारले हालै मात्र उच्च अदालतका पूर्व कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा चार सदस्यीय जाँचबुझ आयोग बनाएको थियो । आयोगको बुधबार बसेको पहिलो बैठकले आफ्नो कार्यादेशबारे सबैलाई जानकारी गराउने र कात्तिक १६ गतेसम्म सुझाव लिने निर्णय गरेको छ ।

अध्यक्ष आचार्यका अनुसार कार्यायोजना निर्माणका क्रममा आयोगलाई पैठारीबारे अध्ययन गर्ने भनेको, तर निकासीबारे नबोलेकाले अध्ययन सीमा के हुने भनेर समेत छलफल भएको छ ।

उनले अघि भने, ‘अहिलेसम्म भएका अनुसन्धान, विचाराधीन मुद्दा र सीआईबीले अनुसन्धान गरिरहेको विषयमा मुद्दामा पनि कमजोरी छ भने खोज भनेको छ । यो अर्को चुनौती हो ।’

सुन तस्करीको प्रवृत्तिमा दिनदिनै परिर्वतन भइरहेको भन्दै उनले अहिलेसम्म भएका तस्करीको अध्ययन गरेर रिपोर्ट दिनु चुनौतीपूर्ण रहेको बताए ।

तर सीआईबीले गरेको अनुसन्धान चाहिँ ठीक भयो कि भएन भनेर चाहिँ हेर्ने अध्यक्ष आचार्यले बताए ।

आयोगलाई अदालत सरह अधिकार रहेकाले जो सुकैलाई पनि बोलाएको बेला आइदिन आग्रह गरे । नभए पक्राउ पूर्जी जारी गर्नसक्ने अधिकार रहेको उनले बताए ।

 

प्रकाशित : 5 October, 2023

प्रतिक्रिया दिनुहोस्