इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारिएको परराष्ट्र मन्त्रालयद्धारा सार्वजनिक

काठमाडौँ । असोज २३, नेपालबाट इजरायलमा गएका सबै विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सारिएको परराष्ट्र मन्त्रालयले मन्त्रालयद्धारा सार्वजनिक गरेको छ ।
नेपाली दूतावासको टोलीसँग सम्पर्कमा रहेका उनीहरूलाई इजरायलले हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने मन्त्रालयले जनाएको छ ।
मुख्य संकट अब टरेको र इजरायली सेनाले पनि आफ्नो क्षेत्र नियन्त्रणमा लिइसकेको भन्दै प्रवक्ता लम्सालले विद्यार्थीहरु र तिनका अभिभावकहरुलाई नआत्तिन आग्रह गरिन् ।
सरकारले नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्नका लागि हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा तीन महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृती पनि दिएको छ ।
इजरायलको सेनाको सहयोगमा घाइतेहरुको उपचार र सम्पर्कविहीन भएकाको खोजी जारी छ । कोही नेपालीहरु बंकरभित्र बसेर ज्यान जोगाएका थिए ।
तिनीहरुमध्ये गएराति सुरक्षित स्थानमा सारिएका ३२ जना नेपाली विद्यार्थीहरुको नामावली सार्वजनिक भएको थियो । त्यसपछि पनि त्रिभुवन विश्वविद्यालयका विद्यार्थी टोलीलाई सुरक्षित स्थानमा लैजाँदै गरेको भिडियो प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको थियो ।
कृषि विषय अध्ययनसँगै काम पनि गर्नका लागि विश्वविद्यालयहरुसँग सम्झौता गरी विश्वविद्यालयहरुले जिटुजीमार्फत् विद्यार्थीहरुलाई इजरायल पठाउने गरेका छन् । ती विद्यार्थीहरुको विवरण सरकारसँग भए पनि अरु नै तरिकाले इजरायल गएकाहरुको विवरण भने छैन ।
त्यसैले विद्यार्थीहरु बाहेक इजरायलमा कति नेपालीहरु छन् र अहिले उनीहरुको अवस्था कस्तो छ भन्ने जानकारी नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायलमा करिब ४ हजार ५०० नेपालीहरु रहेको अनुमान गरिएको छ ।