इजरायलमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सारिँदै

सहयात्रा टिभी

काठमाडौँ । असोज २३, त्रिवि कृषि र पशु विज्ञान अध्ययन संस्थान डीन कार्यालयले इजरायलमा रहेका विद्यार्थी सुरक्षित रहेको जनाएको छ ।

इजरायलको ‘कीन्नरेट एकेडेमीक कलेज’ मार्फत विभिन्न कृषि फार्ममा काम गरिरहेका विद्यार्थी मध्ये ‘जेरिट फार्म’ च्याउ फार्ममा रहेका ७२ विद्यार्थीले असुरक्षित भएको जानकारी दिएपछि त्रिविले नेपाल स्थित इजरायली दुतावास, इजरायलमा रहेको नेपाली दूतावास र कीन्नरेट एकेडेमिक कलेजसँग विद्यार्थीको उद्धार गर्न पहल गरेको जनाएको छ ।

सोमबार राती नै ‘जेरिट फार्म’मा कार्यरत ती विद्यार्थीलाई सेनाले तत्काल उद्धार गरेर विभिन्न पाँच वटा बंकरमा राखेको थियो ।

मंगलबार ती विद्यार्थीलाई कीन्नरेट कलेज नजिक अझ सुरक्षित क्षेत्रमा ल्याइरहेको जानकारी पाएको कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनका डीन प्रा.भार्गव धितालले जानकारी दिए ।

उनले भने ‘ती ७२ जना विद्यार्थीलाई अहिले अझ सुरक्षित क्षेत्रमा ल्याइरहेको भन्ने जानकारी पाएको छु । दूतावास र कलेजसँग नियमित सम्पर्कमा छु ।’

त्रिविका १०० विद्यार्थी ‘लर्न, अर्न एन्ड रिटर्न’ कार्यक्रम अन्र्तगत द कीन्नरेट एकेडेमीक कलेज, जोर्डन गएका थिए ।

यी विद्यार्थीहरु मध्ये ७२ जना ‘जेरिट फार्म’मा र बाँकी २८ जना अरु दुई कृषि फार्ममा कार्यरत रहेको त्रिविले जनाएको छ ।

ती २८ जना विद्यार्थीले आफुहरु सुरक्षित रहेको जानकारी दिएको त्रिविले जनाएको छ । तर उनीहरुलाई पनि सचेत रहन र समस्या भए तुरुन्तै जानकारी दिन अनुरोध गरेको त्रिविले जनाएको छ ।

ती विद्यार्थीहरु २०, २५ भदौमा र १ असोजमा ‘लर्न, अर्न एन्ड रिटर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका थिए । संस्थानले विज्ञप्ति जारी गर्दै विद्यार्थी सुरक्षित स्थानमा सारिरहेको जनाएको छ ।

प्रकाशित : 10 October, 2023

प्रतिक्रिया दिनुहोस्