इजरायलका विद्यार्थीहरुले आफूहरुलाई तत्काल स्वदेश फर्काउन आग्रह

सहयात्रा टिभी

काठमाडौँ । असोज २३, इजरायलको द्वन्द्वग्रस्त क्षेत्रबाट उद्धार गरिएका विद्यार्थीहरुले आफूहरुलाई तत्काल स्वदेश फर्काउन आग्रह गरेका छन् ।

आफूहरुलाई स्वदेश फर्काउन ढिलाइ भइरहेको भन्दै उनीहरुले तत्काल प्रक्रिया अगाडि बढाउन आग्रह गरेका हुन् ।

आफूहरु सुरक्षित ठाउँमा रहे पनि मानसिक र शारीरिक रुपमा कठिन अवस्थामा रहेकाले उद्धारमा ढिलाइ नगर्न उनीहरुले सामाजिक सञ्जालमार्फत् सरकारको ध्यानाकर्षण गराएका हुन् ।

द्वन्द्व प्रभावित क्षेत्रमा रहेका अन्य देशका विद्यार्थीहरुको उद्धार भइसकेको तर नेपालीको मात्रै उद्धार हुन ढिलाइ भएको भन्दै विद्यार्थीले आक्रोश व्यक्त गरेका छन् ।

परराष्ट्र मन्त्रालयले भने स्वदेश आउन इच्छुकहरुलाई सबै विकल्प खुला राखेर छलफललाई अगाडि बढाएको प्रतिक्रिया दिएको छ ।

मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार उनीहरुलाई कसरी स्वदेश ल्याउने भन्ने विषयमा इजरायलमा रहेको नेपाली दूतावास र इजरायलको विदेश मन्त्रालयसँग छलफल भइरहेको छ ।

त्यहाँको विदेश मन्त्रालयले पनि नेपालीलाई स्वदेश फर्काउन पूर्णरुपमा समन्वय गर्ने प्रतिक्रिया दिएको उहाँले जानकारी दिनुभयो । उनीहरुलाई लिन इजरायलमा जहाज पठाउने तयारी भइरहेको भनिए पनि कहिले पठाउने भन्नेबारे सरकारले निर्णय गरिसकेको छैन ।

 

प्रकाशित : 11 October, 2023

प्रतिक्रिया दिनुहोस्