चिनियाँ साथी वाङले अनुरोध गरेपछि भेप निकाल्न फोन गरेको राहुल महराले स्वीकारे

सहयात्रा टिभी

काठमाडौँ । असोज २३,राहुल महराले चिनियाँ साथी वाङको अनुरोध गरेपछि भेप निकाल्न फोन गरेकोहो भन्ने स्वीकारेको बयान दिएका छन् ।

विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महराले इन्कारी बयान दिएका छन् ।

चिनजानका चिनियाँ नागरिकको भेप भन्सारले समातेपछि त्यसबारे बुझ्न अधिकारीहरुलाई फोन गरेको उनले स्वीकारेका छन्, तर सुन तस्करीमा संलग्नता भने अस्वीकार गरेका छन् । उनले भेपभित्र सुन रहेको कुरा समेत मिडियामा आएपछि मात्रै थाहा पाएको भनेका छन् ।

सरकारी वकिलको रोहबरमा प्रहरीसँग दिएको बयानमा उनले पुरानो चिनजान भएका साथी चिनियाँ नागरिक दाओजिन वाङले अनुरोध गरेपछि तत्कालीन भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई फोन गरेको बताएका छन् ।

जिल्ला अदालत, काठमाडौंमा दर्ता अभियोग पत्रमा समावेश बयानमा उनले भनेका छन्, ‘साथीको भेप त्रिभुवन विमानस्थल एयरपोर्टमा रोकिएको छ, के भएको हो निकाल्न मिल्छ, मिल्दैन बुझिदिनुपर्‍यो भनेर अनुरोध गरेकाले मैले प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई फोन गरेर के भएर रोकिएको हो भनेर सोधपुछ गरेको थिएँ ।’

त्यसक्रममा श्रेष्ठले भेप जफत भएको भन्दै भन्सार तिरेर पनि फिर्ता गर्न नमिल्ने बताएको उनले भनेका छन् । उनले भनेका छन्, ‘श्रेष्ठले त्यसबेला लिलामी प्रक्रिया अगाडि बढ्छ भनेर मलाई भनेका थिए, त्यसपछि पनि मलाई दाओजिन वाङले पटकपटक फोन गरेर भेपको के भइरहेको छ बुझिदिनु प¥यो भन्ने गरेका थिए ।’

करिब दूई हप्ता पछाडि भन्सारमा नै गएर बुझिदिनु पर्‍यो भनेकाले ‘के भएको रहेछ बुझौं न त’ भनेर विमानस्थल जाँदा भन्सार कार्याल्य अगाडि वाङ, उनका सवारी चालक लोकेन्द्र कुमार पौडेल र नचिनेको दूई चिनियाँ नागरिकसँग भेट भएको उनले बताएका छन् ।

त्यसपछि आफू, पौडेल र तिब्बतियन जस्तो देखिने नेपाली बोल्न जाने एक व्यक्ति समेत गरेर तीन जना विमानस्थलका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलको कार्यकक्षमा पुगेको उनले बताएका छन् ।

 

प्रकाशित : 11 October, 2023

प्रतिक्रिया दिनुहोस्