तीनकुने सामूहिक हत्याका आरोपी भण्डारीविरुद्ध मुद्दा दर्ता गर्ने तयारी

सहयात्रा टिभी

काठमाडौँ । असोज २३, तीनकुनेस्थित दिव्य सः मिलभित्र २९ भदौमा ४ जनाको हत्या भएको घटनाका आरोपी सञ्जय भण्डारीविरुद्ध अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन पेश गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान गरेर बुझाएको रायसहितको प्रतिवेदनका आधारमा अदालतमा ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको सरकारी वकिल स्रोतले जनाएको छ ।

भण्डारीविरुद्ध जन्मकैदको सजाय मागदाबी लिइएको छ । भण्डारीको बयानका आधारमा थप अनुसन्धान गर्नुपर्ने देखिएपनि २५ दिनभित्र अनुसन्धान सकेर रायसहितको प्रतिवेदन बुझाउनुपर्ने बाध्यता भएकाले प्रतिवेदन पेश गरिएको काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले बताए ।

‘अनुसन्धान गर्नुपर्ने थुप्रै विषयहरु बाँकी रहेकाले थप छानबिन गर्न मिल्ने बाटो राखेर प्रतिवेदन पेश गरेका थियौं’, उनले भने ।

घटना भएको दुई दिनपछि प्रहरीले क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा सिन्धुपाल्चोकका सञ्जय भण्डारीलाई पक्राउ गरेको थियो । उनले सः मिलको बन्द गेटबाट माथि चढेर भित्र गएर विशाल राईको हत्या गरेको बयान दिएका थिए । त्यसपछि अरु थप तीन जना पनि आएपछि हत्या गरेर शव व्यवस्थापन गरेको अनुसन्धानको निष्कर्ष छ ।

प्रहरीले हालै भण्डारीको ‘ब्रेन म्यापिङ’ समेत गराएको थियो । आरोपी बोल्न नसक्ने अवस्थाको भएकाले पोलिग्राफ सम्भव नहुने निष्कर्षपछि नेपालमा अपराध अनुसन्धानमा पहिलो पटक ब्रेन म्यापिङ विधिको प्रयोग गरिएको थियो ।

प्रकाशित : 11 October, 2023

प्रतिक्रिया दिनुहोस्