कोशी प्रदेशमा इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउन गठबन्धन सहमत

काठमाडौं । असोज २४, कोशी प्रदेशमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु सहमत भएका छन् ।
नेपाली कांग्रेस र एकीकृत समाजवादीको नेतृत्वले दाबी छोडेपछि आङ्बो मुख्यमन्त्रीको उम्मेदवार बन्ने भएका हुन् ।
संविधानको धारा १६८(५) बमोजिम सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म समय दिइएको छ ।
यो उपधारामा प्रदेशसभाको बहुमत सदस्यको समर्थन जुटाउनेलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने प्रावधान छ । मुख्यमन्त्री बन्न संसदीय दलको नेता नै आवश्यक नपर्ने भएपछि गठबन्धनभित्रै आकांक्षा राख्ने नेताहरुको संख्या बढेको थियो ।
कांग्रेसमा संसदीय दलका नेता उद्धव थापासँगै केदार कार्की, अमृत अर्याल, भीम पराजुली आकांक्षी थिए । कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्ने भन्दै डा. शेखर कोइरालाले प्रधानमन्त्रीसँग भेट पनि गरेका थिए ।
तर माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो दलका आङ्बोलाई मुख्यमन्त्री बनाउने पक्षमा देखिए ।