निजी क्षेत्रलाई सरकारले पेलेको वाणिज्य महासंघका अध्यक्ष ढकालको गुनासो
काठमाडौँ । असोज २५, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई सरकारले पेलेर जाने गरेको गुनासो गरेका छन् । उनले निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरे ।
आज काठमाडौंमा आयोजित आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रलाई सधैं पेलेर अगाडि बढे अर्थतन्त्रमा झन् संकटमा जाने चेतावनी दिए ।
अर्थतन्त्र संकटतर्फ धकेलिएको अवस्थामा बजेट, मौद्रिक नीति जस्ता राज्यको नीतिहरु व्यवसायी मैत्री नभएको अध्यक्ष ढकालले बताए । अर्थतन्त्रको सुधारका लागि कदम चालेको भन्दै नीति ल्याउने तर उद्योगी व्यवसायीलाई घुमाउरो ढंगबाट लखेट्ने काम भएको अध्यक्ष ढकालले गुनासो गरे ।
संसदीय समितिमा निजी क्षेत्रलाई अख्तियारले पनि हेर्ने गरी भएको छलफलप्रति पनि ढकालले आपत्ति जनाए । राज्यका नियामकहरु व्यक्तिलाई पेलेर समग्र अर्थतन्त्रमा समस्या ल्याउनमा उद्दत रहेको उनले आरोप लगाए ।
आफूहरुले सरकारलाई दिने सुझाव कुनै व्यक्ति विशेषको वा संस्थाको लागि नभई समग्र निजी क्षेत्रको भएको बताउँदै ढकालले तर सरकारले गर्ने व्यवहार व्यक्ति विशेषलाई पेलेर जाने खालको भएको गुनासो गरे ।
आर्थिक सुधारका लागि तत्काल नयाँ पुस्ताको आर्थिक सुधार घोषणा गर्न र आर्थिक सुधार आयोग वा संयन्त्र घोषाणा गर्न सरकारसँग माग गरे । त्यसको अध्यक्ष प्रधानमन्त्री हुने र अन्य निजी क्षेत्रका संस्थाका प्रतिनिधि अवैतनिक सदस्यको रुपमा रहने गरी आयोग वा संयन्त्र गठन गर्न सकिने उनको सुझाव छ ।