भारतीय प्रधानमन्त्री मोदी नेपालसँगको सीमा क्षेत्र कालापानी भ्रमण गर्न आए
काठमाडौँ । असोज २५, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्र भ्रमणमा आएका छन् ।
उनी हेलिकोप्टर चढेर आज बिहान कालापानी क्षेत्रमा आएका हुन् । उनले आदिकैलाश र पार्वतीकुण्डको दर्शन गर्ने कार्यक्रम छ ।
साथै भारतको पिथौरागढका साथै गुन्जीका स्थानीय बासिन्दासँग अन्तर्क्रिया गर्ने कार्यक्रम पनि तय भएको छ । उनले भ्रमण गर्ने क्षेत्र नेपालसँगको सीमा क्षेत्रमा पर्दछ ।
भारतीय पक्षले नेपाललाई यसको जानकारी भने नगराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् ।
मोदी आउन लागेको थाहा पाएपछि भारतीय डिएमलाई फोन गरेर सोध्न खोजे पनि सम्पर्क हुन नसकेको प्रमुख जिल्ला अधिकारी जोशीले बताइन् ।
मोदीसँगै उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी लगायत पनि कालापानी क्षेत्रको भ्रमणमा छन् । मोदीले सामाजिक सन्जाल एक्समा पिथौरागढमा परियोजनाहरुको शिलान्यास र गुन्जी गाउँका बासिन्दासँग सम्वाद गर्ने उल्लेख गरेका छन् । आफ्नो यो भ्रमणको आधात्मिक महत्व भएको पनि उनले जनाएका छन् ।