कोशीमा सरकार बनाउन नसक्नुमा कांग्रेसनै संकटको कारक भयो : मुख्यमन्त्री कार्की

काठमाडौँ । असोज २५, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा मिलिजुली सरकार बनाउने जनादेश भए पनि नेपाली कांग्रेसले नचाहेका कारण संकट आइपरेको बताएका छन् ।
बिहीबार जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले कांग्रेसका कारण प्रदेशमा सरकार बन्न नसक्ने अवस्था आएको बताएका हुन् ।
‘प्रदेशमा मिलिजुली अघि बढ्ने जनमत प्राप्त भयो, सोही अनुसार भरमग्दुर प्रयास गरिरहेका छौं, तर एउटा कोशिसले मात्र काम गर्दैन रहेछ’, उनले भने, ‘मुलुकको जिम्मेवार पार्टी नेपाली कांग्रेसले संकट समाधान गर्न चाहेन ।’
राजनीतिक स्थायित्वका लागि एमाले र काङ्ग्रेस मिल्नुको विकल्प नरहने बताउँदै उनले कांग्रेसलाई मिल्नका लागि आग्रह गरे । काङ्ग्रेस मिल्न तयार नभए माओवादी केन्द्रसँग पनि मिलेर जान एमाले तयार रहेको कार्कीले बताए ।
मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने अन्तिम दिन राजीनामा दिएपछि कोशीमा पुन अर्को सरकार गठनका लागि आह्वान भएको छ ।