आरती साहको परिवारलाई सरकारले सुरक्षा दिन नसकेकोमा झाद्धारा आपत्ति

काठमाडौँ । असोज २५, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले आरती साहको परिवारलाई सरकारले सुरक्षा दिन नसकेकोमा आपत्ति जनाएका छन् ।
बुधबार राति छोरी आरतीको न्यायका निम्ति माइतीघरमा १ सय १९ दिनदेखि धर्ना बसिरहेका परिवारमाथि छुरा प्रहार भएको सांसद झाले बताएका हुन्।
‘१ सय १९ दिनदेखि अनशन बसेर न्यायका निम्ति याचना गरिरहेको आरती साहको परिवारमाथि हिजो राति छुरा प्रहार भयो रे,’ उनले बिहीबारको प्रतिनिधि सभा बैठकमा भने, ‘न्याय त पाएको छैन सुरक्षा त पाओस् न कम्तीमा। म सुनुवाइ होस् भन्ने चाहन्छु।’
जनकपुरकी आरती साह गत जेठ ७ मा आफ्नै घरमा मृत फेला परेकी थिइन्। माइती पक्षले उनको हत्या गरिएको भन्दै न्यायका लागि माइतीघरमा धर्ना बस्दै आएको छ।