बीआरएफमा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठ आज चीन प्रस्थान

सहयात्रा टिभी

काठमाडौं । असोज २९, चीनमा हुने तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ आज सोमबार चीन प्रस्थान गरेका छन् ।

मंगलबार र बुधबार चीनको राजधानी बेइजिङमा हुने बीआरएफमा ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारे समेत छलफल हुनेछ । सो कार्यक्रममा श्रेष्ठले सम्बोधन गर्नेछन् ।

उपप्रधानमन्त्री श्रेष्ठ ७ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनतर्फ गएका हुन् । चीन भ्रमणका क्रममा उनले चीनका सार्वजनिक सुरक्षा र आपतकालीन मन्त्री एवम् चिनियाँ कम्युनिस्ट पार्टीका सचिवालय सदस्य वाङ सियाङसीसँग भेटवार्ता गर्नेछन् ।

सम्मेलनको पहिलो दिन साँझ चिनियाँ राष्ट्रपति सि जिनपिङले आयोजना गरेको रात्रिभोजमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ सहभागी हुने उनको सचिवालयले जनाएको छ । सम्मेलनमा झण्डै तीन दर्जन देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षहरू सहभागी हुनेछन् ।

 

प्रकाशित : 16 October, 2023

प्रतिक्रिया दिनुहोस्