विवादमा पर्ने डरले कर्मचारीहरु निर्णय नै गर्न छाडेको प्रधानमन्त्रीको गुनासो

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार धनगढीमा समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा कर्मचारीहरुले निर्णय गर्न डराएकोबारे पुरानै गुनासो दोहोर्‍याए ।

प्रधानमन्त्री प्रचण्डले विवादमा पर्ने डरले मन्त्री, सचिव र कर्मचारीहरु निर्णय नै गर्न छाडेको गुनासो गरेका छन् ।

प्रधानमन्त्रीले सरकारले राम्रोसँग काम हुन नसक्नुको एउटा कारण कर्मचारीहरुको कार्यशैली पनि भएको संकेत गरेका छन् ।

‘सरकारलाई अप्ठेरो छ, कर्मचारीहरु अलिकति जोखिम उठाउन पनि तयार छैनन्, थोरै मात्रै पनि जोखिम उठायो भने कतिबेला कसको जागिर जाने हो, को गिरफ्तार हुने हो, के हुने हो भन्ने आतंक छ,’ उनले भनेका छन् ।

प्रधामनन्त्री प्रचण्डले सरकार साथमा भएकाले कर्मचारीहरुलाई नडराउन भनेको बताए । ‘तपाईंहरुलाई केही पर्‍यो भने सरकार बचाउन आउँछ, म भनिरहेको हुन्छु, भन्दा भन्दै फेरि अन्यायपूर्ण तवरले कर्मचारी गिरफ्तार पनि भइरहेका छन् । यो जटिलता पनि छ,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

पूर्वसचिव तथा लोसकेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनाली कर्मचारी जोखिम देखाएर गर्नैपर्ने निर्णय समेत पन्छाइरहेका बेला प्रधानमन्त्रीले आफूले गर्नुपर्ने काम नगरी त्रसित कर्मचारी देखाएर पन्छिरहेको मान्छन् ।

गत ११ भदौमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पनि प्रधानमन्त्री प्रचण्डले विवादमा पर्ने डरले मन्त्री, सचिव र कर्मचारीहरु निर्णय नै गर्न छाडेको गुनासो गरेका थिए ।

जग्गाको मुआब्जा, रुख कटानी, वातावरणीय प्रभाव मूल्यांकनको स्वीकृति जस्ता प्रक्रियामा समयमै निर्णय नभएर सरकारी तथा निजी स्तरका विकास तथा लगानी परियोजनाहरु प्रताडित छन् ।

विभिन्न निर्णय तथा राय परामर्शका लागि एक निकायबाट अर्को निकायमा पठाइएका फाइलमा समयमै निर्णय नभएर सरकारकै संयन्त्रहरु प्रभावित छन् ।

प्रकाशित : 18 October, 2023

प्रतिक्रिया दिनुहोस्