कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त

काठमाडौं । कात्तिक १, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत प्राप्त भएको छ ।
प्रदेशसभामा बुधबार भएको मतदानमा कार्कीको पक्षमा ८६ मत परेको छ भने विपक्षमा ५ मत मात्र खसेको छ । राप्रपा बाहेक प्रदेशसभामा भएका सबै दलले कार्कीलाई मत दिएका छन् । मतदानमा ९१ जना सहभागी थिए ।
संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका क्रममा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य कार्कीले आफ्नो दलका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको समर्थन जुटाएर दाबी गरेका थिए । समर्थनकर्ताहरुले हस्ताक्षर सनाखत गरेपछि कार्की २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
कांग्रेस नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धनमा दृढ रहने सहमति गरेपछि भने सत्ता गठबन्धनका दलहरुले पनि उनलाई समर्थन गर्ने निर्णय गरेका छन् ।