मुगु सामूहिक हत्या प्रकरणको प्रहरी अनुसन्धानमा हत्यारा नजिक पुगेको दाबी
काठमाडौं । कात्तिक १२, मन्दु गाउँमा तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धान हत्यारा नजिक पुगेको दाबी गरेको छ ।
कुकुरसहित अनुसन्धानमा परिचालित प्रहरी अहिले घटना भएको स्थान छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँ वरपर अनुसन्धानमा तल्लीन छ ।
प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार अहिले प्रहरीले महत्त्वपूर्ण प्रमाण फेला पारिसकेको भए पनि अझै अनुसन्धान भने जारी राखेको हो ।
उहाँका अनुसार हत्या गरिएका चारै जनाको शव जिल्ला अस्पताल मुगुमा राखिएको छ । सम्भवतः आज आइतवार चारै जनाको शव परीक्षण हुने जनाइएको छ ।
गएको शुक्रवार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज, आठ महिनाका छोरा रहर र आठ वर्षीया छोरी अप्सराको शव घरभित्रै फेला परेको थियो । उनीहरूको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको थियो ।
मृतक श्रीदेवी छोराछोरीसहित यही कात्तिक ७ गते नै दशैँको टीका थाप्न त्यही वडामा रहेको माइती गाउँ कोटिल्ला जानुभएको थियो । माइतीबाट टीका, जमरा लगाइसकेपछि उहाँ ८ गते बेलुका नै घर फर्किनुभएको थियो । त्यही राति सामूहिक हत्या गरिएको हुनसक्ने प्रहरीले बताएको छ ।
मृतकका श्रीमान् दीपक बोहोरा वैदेशिक रोजगारीका क्रममा कतार रहे पनि घरमा श्रीमतीसहित छोराछोरीको हत्या भएको खबर पाएपछि शुक्रवार राति काठमाण्डौ विमानस्थलमा ओर्लेर आज मुगु पुग्नुभएको थियो । हत्याको अनुसन्धान गर्न नेपाल प्रहरीको विशेष अनुसन्धान टोली परिचालित छ ।